न्युयोर्क, ११ असार । संयुक्त राज्य अमेरिकामा एउटा १२ तले भवन बिहीवार भत्किँदा ९९ जना मानिसहरू बेपत्ता भएका छन् ।
एक जनाको मृत्यु भएको पुष्टि भएको छ र धेरै जना भग्नावशेषभित्र पुरिएको ठानिएको छ । हराएकाहरूमा कैयौँ ल्याटिन अमेरिकी आप्रवासी रहेका छन् ।
मायामीका मेयरले सङ्घीय सहयोगका लागि अनुरोध गरेका छन् । भवन भत्किनुको कारण प्रस्ट भएको छैन तर सुरक्षा प्रमाणीकरणका लागि त्यहाँ पुनर्निर्माणको काम भइरहेको थियो ।
मायामी डेडकी मेयर डेनीयला लेभिन(काभाले हालसम्म १ सय २ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको जानकारी दिइन् ।
सर्फसाइडमा रहेको उक्त भवन सन् १९८० मा बनेको थियो । बेपत्ता हुनेमा कैयौँ ल्याटिन अमेरिकीहरू रहेको विवरण सम्बन्धित कन्सुलेटहरूले दिइरहेका छन् ।
पाराग्वेकी प्रथम महिलाका आफन्तहरू पनि हराउने मध्येमा छन् । उद्धारकर्ताहरूले प्रथम महिला सिल्भाना लोपेज मोरेराका बहिनी ज्वाइँ र उनीहरूका तीन सन्तान अनि एक जना घरेलु कामदारको अवस्था पत्ता लगाउन सकिरहेका छैनन् ।
भग्नावशेषबाट ३५ जनालाई निकालिएको र १० जनालाई परीक्षण गरी दुई जनालाई अस्पताल पठाइएको थियो ।
खोजीकार्य जारी रहँदा सानो आगलागी भएपनि त्यसलाई २० मिनेट भित्रै नियन्त्रणमा लिइएको स्थानीय अग्नि नियन्त्रण प्रमुखले बताएका छन् ।
फ्लोरिडाका गर्भनरले घटनास्थलमा पुगेर उद्धारको काम अझै जारी रहेको र त्यति ठूलो संरचना ढलेको देख्नु पीडादायी रहेको बताए ।
राष्ट्रपति बाइडनले गभर्नर रोन डिसान्टिसबाट सङ्कटकाल घोषणा आफूले कुरिरहेको र फीमा भनिने सङ्घीय आपत्तकालीन व्यवस्थापन निकायका अधिकारीहरू घटनास्थलमा पुगेको जनाए ।
उद्धारकर्ताहरूले क्रेनहरूको प्रयोग गरी नजिकै रहेका अपार्टमेन्टमा बसिरहेका मानिसहरूको उद्धार गर्ने प्रयास गरिरहेको देखिन्छ । आफ्ना भाइहरूसँग कुकुर डुलाउन हिँडिरहेका एक जना व्यक्तिले भवन खसेको आवाज सुनेको बताए । बीबीसी















प्रतिक्रिया