काठमाडौं । नेकपा (एमाले) काठमाडौँ उपत्यका इन्चार्ज कृष्णगोपाल श्रेष्ठले देशमा चाँडो संविधान निर्माण कार्य सम्पन्न गरी मुलुकमा सङ्क्रमणकाल अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।
एमाले गाउँ पार्टी कमिटीले बुधवार डाँछी गाविसस्थित थलीमा आयोजना गरेको कार्यकर्ता तथा स्थानीयवासीसँगको भेटघाटमा उहाँले संविधान निर्माणपछि जनताको राजनीतिक अधिकार सुनिश्चित हुनेमा जोड दिँदै सो कार्य पूरा भएपछि समग्र मुलुकको विकास निर्माणमा राजनीतिक शक्ति केन्द्रित हुनुपर्ने बताउनुभयो ।
काठमाडौँ निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा उम्मेदवार रहनुभएका नेता श्रेष्ठले त्यस क्षेत्रको प्राचीन महत्व बोकेका माधवनारायण जात्रा, शालीनदी तथा बज्रयोगिनीको संरक्षणमा आफू लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पार्टीका नेता नारायण ढकाल तथा सभासद् रामेश्वर फुँयालले सो क्षेत्रमा बौद्ध, जोरपाटी, साँखु हुँदै ल्हासा जोडने मनमोहन मार्गको विकास गर्नसकेमा स्थानीय तहमा ठूलो रोजगारी तथा विकासका सम्भावनामा वृद्धि हुने बताउनुभयो ।
एमाले गाउँ पार्टी कमिटीका अध्यक्ष धर्मबहादुर श्रेष्ठले सो क्षेत्रमा २००७ साल देखि नै पार्टीका विभिन्न गतिविधि हुँदै आएकाले आम जनतामा पार्टीका सिद्धान्त तथा आदर्शको राम्रो प्रभाव रहेको भन्दै उपनिर्वाचनमा एमाले पार्टीलाई विजयी बनाउन स्थानीयवासीलाई आग्रह गर्नुभयो ।













प्रतिक्रिया