३० आश्विन २०८३, शुक्रबार

प्रहरीको पेट्रोल पम्पमा त्रुटि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Naxal-Petrol-Pump

काठमाडौँ, २३ चैत । नेपाल प्रहरीको पेट्रोल पम्पमा अनियमितताका कारण नभइ यान्त्रिक) त्रुटिवश मापदण्डभन्दा कम पेट्रोल बिक्री वितरण भएको छानविन समितिले निष्कर्ष निकालेको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले पेट्रोलपम्पका कर्मचारीले अनियमितामा कुनै मिलेमतो तथा बदनियत गरेको नदेखिएको प्रहरी प्रधान कार्यालयले आज जनाएको हो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) बमलसिंह बमले रासससँग कुरा गर्दै प्राविधिक त्रुटिका कारण तेल घटिबढी वितरण हुने पाइएकाले पम्पको मेसिन मर्मत गर्न र नयाँ मेसिन राख्न निर्देशन दिइसकिएको बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संयोजकत्वमा गुणस्तर तथा नापतौल विभागसहितको टोलीले यही चैत ३ गते भएको संयुक्त अनुगमनका क्रममा नक्सालस्थित पम्पमा प्रति १० लिटर तेलमा एक सय १० एमएल कम पाइएपछि त्यसको भोलिपल्ट छानविन समिति गठन गरिएको थियो ।

समितिको सुझाबअनुसार प्राविधिक विषयमा नियमित अनुगमन गर्ने एवम् इन्धन वितरणमा नियमित परीक्षण गरी मापदण्डबमोजिम इन्धन वितरण गर्न पेट्रोलपम्पलाई निर्देशन दिएको प्रहरीको विज्ञप्तिमा जनाएको छ ।

समितिले पुरानो यन्त्र (मेसिन) लाई डिजिटल मेसिन ल्याई विस्थापित गर्न, पम्पमा नमुना जाँचका लागि राखिएको पाँच लिटरको गुणस्तर तथा नापतौल विभागबाट प्रमाणित भाँडो पुरानो भएकाले नयाँ भाडो प्रयोग गर्न सिफारिस गरेको छ । रासस