७ कार्तिक २०८३, शनिबार

पूर्वअर्थसचिव सुवेदीले भने– विपक्षीले आगो ओकलेका कारण बजेट कार्यान्वयन चुनौतीपूर्ण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । अर्थशास्त्री एवं पूर्व अर्थसचिव शान्तराज सुवेदीले कारोना महामारी, निर्वाचन घोषणा र राजनीतिक अस्थिरताकाबीच आएको बजेट कार्यान्वयन र स्वामित्व ग्रहण निकै चुनौतीपूर्ण हुने बताएका छन् ।

बजेटको कार्यान्वयन शुुरू गर्ने मुख्य समयमै निर्वाचनको मिति घोषणा भएको भन्दै उनले निर्वाचन भए कर्मचारी तथा राज्य संयन्त्र त्यतै लाग्नुपर्ने कारणले खर्च चुनौतीपूर्ण हुने धारणा उनको छ ।

‘समग्रमा बजेट जनमुखी नै रहे पनि विपक्षीले बजेटबारे आगो ओकलेका कारण निर्वाचनबाट फरक सरकार बने यसको स्वामित्व ग्रहणमा समस्या देखिन सक्छ,’ सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अन्तरक्रियामा सुवेदीले भने ।

कोरोनाको तेस्रो लहरको सम्भावनालाई बजेटले अंगीकार नगरेको भन्दै सुवेदीले चुरेको ढुंगा गिट्टीनिर्यात, नुनमा निजी क्षेत्रलाई खुला गर्ने जस्ता विषयले विवाद बढाएकाले सम्बन्धित संस्थाले स्वामित्व ग्रहण गर्ने सम्भावना कम रहेको उनको भनाइ छ ।

बजेट कार्यान्वनयनका लागि तालिका बनाएर नै काम थाल्नु पर्ने बताउँदै उनले बजेटको कार्यान्वयनका लागि बाधा रहेका सार्वजनिक खरिद ऐन, परियोजना कार्यान्वयन कानुन र मूआब्जा तथा क्षतिपूर्ति कानुन संशोधन हुनुपर्नेमा जोड दिए । ‘बजेट कार्यान्वयनका लागि सहकार्य र समन्वय गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘सहुलियत कर्जा कार्यविधि तथा नियमावली बनाउनु पर्छ ।’

रकमान्तरमा जाँदै नजाने तथा बजेट सेलेण्डरको अवधि अझ चाँडै गराउनु पर्ने पनि उनले बताएका छन् । सरकारले खर्च गर्न नसक्ने आयोजनाहरूले चैत १५ गतेदेखि बजेट सेलेण्डर गर्नुपर्ने प्रावधान छ । उनका अनुसार बजेट कार्यान्वयनका लागि सार्वजनिक खरिद ऐन, आयोजना कार्यान्वयन तथा जग्गा प्राप्तीसम्बन्धी अध्यादेश ल्याउनु पर्ने हुन्छ ।