७ कार्तिक २०८३, शनिबार

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २३ जेठ । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी धादिङ, चितवन, गोर्खा, रौतहट र रामेछापमा ६ जनाको मृत्यु भएको छ ।

प्राप्त विवरण अनुसार धादिङको धुनिवेशी नगरपालिका–९ काफलचौरमा ना. १ क ३७९६ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खोल्सामा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा ट्रक चालक सोही ठाउँ बस्ने ४० वर्षीय राम कुमार तामाङको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको समाज अस्पताल सतुङ्गल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी धादिङकै गल्छी गाउँपालिका–७ भलटारस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीय नबराज घिमिरेको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बुढीगण्डकी अस्पताल गल्छीमा उपचारको क्रममा मृत्यु भएको हो ।

चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउने भन्ने स्थानमा ना. ५ ख ८१५५ नम्बरको ट्रक र बा. ४८ प ८८३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१० रमाईलो चोक बस्ने ३५ वर्षीय बिनोद अधिकारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका–२९ जुगेडी बस्ने २८ वर्षीय मनोज थापा क्षेत्रीको सोही अस्पताल हुँदै थप उपचारका लागि नयाँ मेडिकल कलेज पठाइएको प्रहरीले बताएको छ ।

त्यस्तै गोरखाको पालुङटार नगरपालिका–९ मसानठाँटीमा ग.१ त ४२७८ नम्बरको ट्याक्टर सडकबाट करिब १० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा सोही ट्याक्टरमा काम गर्ने धादिङ दार्खा–३ खनिया घर भएका २० वर्षीय याकुब तामाङको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै रौतहटको गौर नगरपालिका–४ गौर चपुरस्थित सडकमा बीआर ०५ एएच ७५४४ नम्बरको मोटरसाइकललाई ज. १ त ४४१४ नम्बरको ट्याक्टरले शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक वौधीमाई नगरपालिका–७ बंकुल बस्ने ३२ वर्षीय ‍मुकेश जयसवालको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ । घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय शिवकुमार यादवको सोही अस्तपाल हुँदै थप उपचारको लागि वीरगञ्ज पठाइएको छ ।

र, रामेछापको मन्थली नगरपालिका–१ बसपार्कमा ना. ६ त ४५८५ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार दैलेख नौमुले गाउँपालिका–२ बस्ने २० वर्षीय कृष्ण शाहीको शनिबार साँझ मृत्यु भएको छ । ट्याक्टरबाट अचानक खस्दा गम्भीर घाइते भएका उनको तामाकोशी अस्पताल मन्थलीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सबै दुर्घटनाका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरूले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।