काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन् ।
जिल्ला सभापतिहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गरेर असंन्तुलित र द्वैध भूमिका राष्ट्रपतिले देखाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान राष्ट्रपतिको असन्तुलित र द्वैध भूमिकाप्रति समेत हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन घोषणा भएको कारण देखाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सहमति नदिने’, विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय सभाका लागि सिफारिस गरेका नाम जारी नगर्ने तर अहिले त्यसको ठीक विपरीत कामचलाऊ प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डल हेरफेर, विस्तारमा सहयोग पुर्याउने कुरा एकदमै दुर्भाग्यपूर्ण छ ।,’
सभापतिहरूले उप–प्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिमाथि पनि प्रश्न उठाएका छन् ।
‘सरकारका प्रधानमन्त्री विदेशी गुप्तचरसँग रातभर गोप्य संवाद गर्ने, उप–प्रधानमन्त्री राजेन्द्र महतो राष्ट्र विखण्डनको आसयमा ‘बहुल राष्ट्र राज्य’को वकालत गर्ने जस्ता घटनाले हाम्रो सार्वभौमसत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतामाथि गम्भीर प्रहार भएको छ’, सभापतिहरूले भनेका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्न केन्द्रलाई दबाब दिने निर्णय भएको सभापतिहरूले जनाएका छन् ।
६१ जिल्लामा मात्रै क्रियाशील सदस्यताको काम भएका छन् अरूमा टुंगिएको छैन। कोरोना महामारीबीच नै महाधिवेशन भदौमै गर्नुपर्ने आवाज कांग्रेसभित्र उठेको छ ।
कांग्रेसका जिल्ला सभापतिहरूको भर्चुअल बैठकले महाधिवेशन गर्न केन्द्रको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
जिल्ला सभापतिहरूले वर्तमान केपी ओली नेतृत्वको सरकारले एकपछि अर्को असंवैधानिक काम गरिरहेकोले विरोध गर्ने पनि बताएका छन् ।











प्रतिक्रिया