
संखुवासभा, २१ जेठ । संखुवासभामा आफ्ना बुबाको किरिया बसेका एक दम्पतीको आगलागीमा परी मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको मादी नगरपालिका–५ च्याङरिङका ४६ वर्षीय राजेन्द्रबाबु दाहाल र उनकी श्रीमती ५० वर्षीया कमला भण्डारी छन् । उनीहरुको बिहीबार राति मृत्यु भएको प्रहरीले बताएको छ ।
दाजु गायत्री दाहालको घरमा बुबाको क्रिया बसेका दुवै जना बिहीबार राति घरबाहिर निस्किएएका थिए । तर लामो समयसम्म फर्किएर नआएपछि खोजी गर्ने क्रममा उनीहरुको आफ्नो घरमा आगलागी भएको र सोही आगलागीमा परेको पाइएको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मादीराम्बेनीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । साथै उनीहरुको खोजी गर्ने क्रममा आगलागीबाट जलेर मृत्यु भएको अवस्थामा कमलाको शव फेला परेको हो भने जलेर गम्भीर घाइते भएको अवस्थामा फेला परेका राजेन्द्रको उद्दार गरी लगिएकोमा मादी नगरपालिका–४ मादी पोलीक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो ।
आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीको कारण हाल खुल्न सकेको छैन । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया