
पोखरा, २१ जेठ । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले कोभिड भ्याक्सिन सहजताका लागि भ्याक्सिन भोलेन्टियर परिचालन गर्ने बताएका छन् ।
संघको गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले तीन महिनाभित्र हरेक जनतालाई खोप सेवा उप्लब्ध गराउने सरकारी प्रतिबद्दताको स्वागत गर्दै धन्यबाद समेत व्यक्त गरेका छन् ।
सरकारको उक्त खोप अभियानलाई सजह तथा प्रभावकारी बनाउन टोल–टोल तहसम्म हजारौं स्वयमसेवक परिचालन गरिने उनको भनाइ छ । नेपालमा कोभिड–१९ को दोस्रो लहरको संक्रमणसँगै यसको नियन्त्रण, रोकथाम, राहत तथा उद्दारमा देशब्यापी रुपमा आफ्नो संगठन र हजारौं नेता कार्यकर्ता परिचालित रहेको दाबी पनि उनले गरेका छन् ।
संघका गण्डकी प्रदेश कमिटी प्रमुख महेन्द्र गुरुङको अगुवाई र पहलकदमीमा संकलित उक्त सामग्रीहरु गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. डुकबहादुर छेत्रीलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा ५० थान अक्सिजन सिलिण्डर, पीपीई, मास्क, ग्लोभ्सलगायत रू १० लाख रकम बराबरको सामग्री हस्तान्तरण गरिएको बताइएको छ ।















प्रतिक्रिया