लण्डन, १८ जेठ । चीनमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । चीनको दक्षिणी सहर ग्वांझोमा सोमबार १८ जनामा सङ्क्रमण भएको पाइएको छ ।
सङ्क्रमितमध्ये सात जना शहरभन्दा बाहिरबाट गएका व्यक्तिहरू रहेका बीबीसीले जनाएको छ । सङ्क्रमण बढेसँगै यो शहरमा हुने उडान सेवा बन्द गरिएको छ ।
गएको २४ घण्टामा चीनमा २७ जना सङ्क्रमित भेटिएका छन् । योसँगै अहिलेसम्म चीनमा ९१ हजार ९९ जनालाई सङ्क्रमण पुष्टि भएको छ भने कोरोनाका कारण अहिलेसम्म चार हजार ६ सय ३६ जनाको ज्यान गएको छ ।
बेलायतमा कोरोनाको तेस्रो लहरको चेतावनी दिइएको छ । त्यहाँका वैज्ञानिकले तेस्रो लहरको सुरुवाती सङ्केत देखिएको बताएका छन् । युनिभर्सिटी अफ क्याम्ब्रिजका प्राध्यापक रवि गुप्ताले कोरोना सङ्क्रमण अहिले केही कम देखिए पनि फेरि फैलिन सक्ने बताए ।
बेलायतमा गएको २४ घण्टामा मात्र ३ हजार ३ सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको भने यो अवधिमा मात्र एक जनाको ज्यान गएको छ ।
अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञले कोरोना भाइरसविरुद्धको लडाइँ अहिले नै जितिएको घोषणा गर्नु अति छिटो हुने बताएको छ । सङ्क्रमण केही कम जस्तो देखिए पनि यसले फेरि विकराल रुप लिन सक्ने विज्ञले चेतावनी दिएका छन् ।
अमेरिकामा गएको २४ घण्टामा ५ हजार एक सय ४१ नयाँ सङ्क्रमित भेटिएका छन् भने थप १४१ जनाको ज्यान गएको छ ।















प्रतिक्रिया