
काठमाडौं, १७ जेठ । आम नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी नेपाल मेडिकल एसोसिएशनले टेलिमेडिसिन सेवा पनि सञ्चालनमा ल्याएको छ ।
टेलिमेडिसिन सेवाबाट निषेधाज्ञाका कारण घरमै बस्न बाध्य बिमारीहरूलाई भिडियो कलमार्फत विशेषज्ञ चिकित्सकहरूबाट परामर्श दिइने छ । संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार टेलिमेडिसिन सेवाबाट सोझै डाक्टरहरूलाई विरामीले आफ्नो समस्या समेत भिडियो कलमार्फत देखाउन सक्ने छन् ।
यसबाट विरामीको बस्तुस्थिति अझै सजिलोसँग चिकित्सकले थाहा पाउने र उपचारमा सजिलो हुने विश्वास संघले गरेको छ । हिजो आइतबारदेखि शुरू भएको यो सेवा हाललाई प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गरिने जनाइएको छ ।
हाल देशभर जटिलबाहेक बहिरङ्ग (ओपीडी) सेवा समेत ठप्प भएको बेला यो सेवाबाट देशभर तथा देशबाहिरका नेपाली नागरिकले समेत निःशुल्क चिकित्सकीय सेवा प्राप्त गर्न सक्ने छन् ।
नेपाल चेम्बर अफ कमर्शको अगुवाईमा साल्ट ट्रेडिङ कर्पोरेशन र सामाजिक संस्था ईश्वरलाल प्रतिष्ठानले टेलिमेडिसिन सञ्चालनमा सहयोग गरेको नेपाल मेडिकल एसोसिएशनले जानकारी दिएको छ । संघका अनुसार नेपाल चेम्बर अफ कमर्शको अगुवाइमा अन्य दुई संस्थाले टेलिमेडिसिनका लागि आवश्यक सहयोग उपलब्ध गराएका हुन् ।
उक्त टेलिमेडिसिन सञ्चालन गर्न चाहिने सम्पूर्ण सामग्री (लजिस्टिक सपोर्ट) नेपाल चेम्बर अफ कमर्श र साल्ट ट्रेडिङ कर्पोरेशनले गरेको छ भने सामाजिक संस्था ईश्वरलाल प्रतिष्ठानले अन्य पूर्वाधारका काममा सहयोग गरेको ईश्वरलाल प्रतिष्ठानकी सदस्य डा. रमिला श्रेष्ठ (मास्के)ले जानकारी दिइन् ।
केही दिनअघि कोरोना भाइरसको संक्रमणका कारण अस्पताल जान नसकेका नागरिकहरूका लागि लक्षित गर्दै नेपाल चिकित्सक संघले निःशुल्क रूपमा कल सेन्टर सञ्चालनमा ल्याएको थियो । लगत्तै संघले टेलिमेडिसिन पनि सञ्चालनमा ल्याएको हो ।
टेलिमेडिसिन केन्द्रबाट सेवा लिनका लागि ‘मेरो डक्टर’ मोबाइल एप्लिकेशनमार्फत थप सहज हुने पनि बताइएको छ । उक्त एप्लिकेशनमार्फत सेवा लिनेसम्बन्धी जानकारी मेरो डक्टरको वेबसाइटमा उपलब्ध गराइएको छ ।
















प्रतिक्रिया