९ कार्तिक २०८३, सोमबार

बाजुरामा पहिरो खस्दा गहुँबाली बगायो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १६ जेठ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– ३ जुकोटमा गए राति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौँ बगाएको हो ।

अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । वर्षाले घट्टेखोलाबाट वाइसम्मको सिँचाइ कुलोमा पानीको बहाव बढेपछि कुलोमुनिबाट पहिरो बगेको स्थानीयको भनाइ छ ।

पहिराले पाकेको गहुँबाली बगाएपछि किसान चिन्तित भएका छन् । बाली भित्र्याउने समयमा भित्र्याउनै नपाई पहिराले कोरी लुछी बगाएपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ ।

उक्त स्थानका करिब २० परिवारको गहुँ, जौँ बालीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।

पाकेको बाली भित्र्याउन तयार रहेका किसानको बाली एक्कासि पहिरोले बगाएपछि बाली भित्र्याउने सपना पहिरोले गुमाइदिएको छ । एकातिर दोस्रो भेरियन्टका रूपमा फैलिरहेको कारोना भाइरसको चिन्ता छ, भने अर्कोतिर झन् अब बाली नै नष्ट पारेपछि भोकमरीको चिन्ताले किसानलाई पिरोलेको छ ।

अविरल वर्षा नरोकिएमा पहिरो पुनः जाने सम्भावना बढेको छ । यस्तै २० घर पहिरोको उच्च जोखिममा रहेको स्थानीय मेघराज शाहीले जानकारी दिए ।

उनका अनुसार गाउँमाथि रहेको खेतबारीमा पाकेको गहुँ, जौँलगायत बाली नष्ट पारिसकेको र अझै वर्षा नरोकिएमा पहिरो आएर घर बगाउने जोखिममा परेका छन् ।