काठमाडौं, १४ जेठ । सुदूरपश्चिम प्रदेशमा एमालेका सांसदहरूले अनुशासन उल्लंघन गरे कारबाही हुने चेतावनी नेता कर्ण थापाले दिएका छन् ।
एमालेले सुदूरपश्चिम प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । एमालेले सरकार बनाउने निर्णय गरे पनि केही सांसदहरूले पार्टीको निर्णय रुचाएका छैनन् । एमालेका तीन जना मन्त्रीहरूले राजीनामा दिन अस्वीकार गरेपछि सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको सरकार बचेको छ ।
एमालेले तीन जना मन्त्रीलाई पदबाट राजीनामा दिएर फिर्ता हुन निर्देशन दिएको छ । तर, तीन जना मन्त्रीले राजीनामा दिएका छैनन् । उनीहरूलाई राजीनामा दिएर फिर्ता हुन निर्देशन दिइएको बताएका थापाले भने, ‘राजीनामा नदिएका तीन जना मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेका छौँ । उहाँहरूलाई अनुशासनको कारबाही हुन्छ ।’
शुक्रबार बिहान काठमाडौंको एफएम रेडियोसँग उनले भने, ‘पार्टीको निर्णय पालना नगर्नेलाई कारबाही हुन्छ । तीन जना मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेका छौँ ।’
‘अराजकता भनेको लोकतन्त्र होइन । पार्टीमा सुद्धीकरण अभियान चलेको छ’, उनले भने, ‘माधव नेपाल, झनाथ खनाल, भीम रावल जस्ता नेतालाई त कारबाही गरियो । अरु भनेका केही होइनन् ।’
सुदूरपश्चिममा एमालेका २५ जना सांसद छन् । २५ जना मध्ये २० जना नेता भीम रावल निकट रहेको बताइएको छ । ५ जना मात्रै थापा निकटका हुन् । तर, नेता थापाले सुदूरपश्चिममा भीम रावलका कुनै पनि सांसद नरहेको बताए ।
‘व्यक्तिको इच्छाका निम्ति पार्टीलाई नोक्सान पुर्याउने काम गर्नु हुँदैन’, उनले भने, ‘सबैलाई कारबाही हुँदैन । केहीलाई मात्रै हुन्छ ।’
प्रकाश शाह, कृष्ण सुवेदी, माया भट्टलाई कारबाही शुरु गरेको उनले बताएका छन् । थापाले भने, ‘त्रिलोचन भट्टलाई साथ दिनेलाई कारबाही हुन्छ ।’ सुदूरपश्चिम प्रदेशमा एमालेभित्रको विवादले माओवादीका मुख्यमन्त्री भट्टलाई फाइदा पुगेको छ ।















प्रतिक्रिया