३० आश्विन २०८३, शुक्रबार

स्वर्गीय रामनाथ ढकाललाई फर्केर हेर्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-nath-Dhakal2

भरत केसी

बुटवल, २२ चैत । गुल्मी जिल्लाको खड्गकोट गाविसमा जन्मिएर गाउँकै विद्यालयमा अध्ययन गर्दादेखि नै राजनीतिमा सहभागी हुनुभएका स्वर्गीय रामनाथ ढकाल युवामाझ लोकप्रिय हुनुहुन्थ्यो ।

सरल, शालीन र वैचारिक युवानेता ढकाल प्रखरवक्तासँगै विकासवादी नेताका रुपमा स्थापित हुनुभएको थियो । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका ढकाल विद्यालय पढ्दा सुरुमा अखिल पाँचौँका कार्यकताका रूपमा राजनीतिमा प्रवेश गर्नुभएको थियो ।

पञ्चायतकालमै अखिलको केन्द्रीय सदस्य रहेका उहाँ २०४८ सालमा अखिलको केन्द्रीय महासचिव र २०५० सालमा हेटौँडामा सम्पन्न अधिवेशनबाट केन्द्रीय अध्यक्ष हुनुभएको थियो । विसं २०५१ को मध्यावधि निर्वाचनमा गुल्मी–१ बाट निवार्चित भएपछि त्यसपछि उहाँ नेकपा (एमाले)को पार्टी राजनीतिमा सक्रिय रहेर लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

विसं २०६४ को संविधानसभा निर्वाचनमा रुपन्देही–५ बाट निवार्चित ढकाल संसद्को राज्यव्यवस्था समितिका सभापति भएपछि अझै लोकप्रिय नेताका रुपमा स्थापित हुनुभएको सोही क्षेत्रमा लामो समयदेखि शिक्षण पेसामा सक्रिय रहनुभएका प्याब्सन रुपन्देहीका उपाध्यक्ष लेखनाथ पौड्याल बताउनुहुन्छ । राज्यव्यवस्था समितिको सभापति हुँदा उहाँले राज्यका हरेक निकायमा आर्थिक सुशासन स्थापित गर्न निर्वाह गर्नुभएको भूमिका निकै उदाहरणीय भएको उहाँको बुझाइ छ ।

यसका साथै रुपन्देही क्षेत्र नं ५ निकै पिछडिएको क्षेत्रको विकासका लागि उहाँले कहिल्यै पूर्वाग्राही भावना राख्नुभएन । विकास निर्माण सबैसँगको सहकार्यबाट मात्र सम्भव हुन्छ भनेर सहमति र सहकार्यलाई जोड दिने तथा गाउँमा पुग्दा सबै तहका जनताको भावना बुझ्ने नेताका रुपमा आफूले बुझेको पौड्याल बताउनुहुन्छ ।

रुपन्देहीको क्षेत्र नं ५ बाट तीनपटकसम्म उम्मेदवार भएर २०६४ सालको संविधानसभा निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको थियो भने पछिल्लो पटक २०७० सालको निर्वाचनमा उहाँ पराजित हुनुभयो । निर्वाचनमा पनि प्रतिद्वन्द्वी उम्मेदवारसँगको उहाँको व्यवहार जहिले पनि सकारात्मक हुने गरेको सो क्षेत्रका सभासद् भरतकुमार शाह बताउनुहुन्छ ।

“निर्वाचनको बेला प्रचार–प्रसारका क्रममा पनि कहिल्यै मनमुटावको व्यवहार नभएको र एमालेभित्र केही गर्न चाहने युवा नेतृत्वका रुपमा स्थापित नेता हुनुहुन्थ्यो”–सभासद् शाह भन्नुहुन्छ । विगतमा म पराजित हुँदा र यसपटक उहाँ पराजित हँुदा पनि सहमति र सल्लाहमा क्षेत्रको विकासका लागि चिन्तित हुने नेता ढकाल हुनुहुन्थ्यो ।

रुपन्देही क्षेत्र नं ५ मा निर्वाचनका क्रममा २०६४ सालदेखि नै भेटघाट र सहकार्य भएको बताउनुहुन्छ एनेकपा माओवादीका केन्द्रीय सदस्य तथा सोही क्षेत्रका उम्मेदवार हुनुभएका नेता माधव शर्मा । उहाँले स्वर्गीय ढकालको स्वभाव, शैली देश र जनताप्रति उत्तरदायी त्यस्तो संयमित व्यक्ति विरलै पाइन्छ भन्नुभयो ।

नेता ढकालको निधनले देशलाई निकास दिन युवा नेतृत्वबाट पहल गर्ने नेतृत्वलाई राष्ट्रले गुमाएको एमाओवादी नेता शर्मा बताउनुहुन्छ । निर्वाचनमा विजयी–पराजयभन्दा जहिले पनि क्षेत्रको विकासका लागि सदैव सहमति र सहकार्य गर्ने नेताका रुपमा आफूले सहकार्य गर्ने अवसर पाएको उहाँ बताउनुहुन्छ ।

नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष भोजप्रसाद श्रेष्ठले स्वर्गीय नेता ढकाल एक ऊर्जाशील र प्रखर व्यक्तित्वको निधनबाट राष्ट्रलाई क्षति पुगेको र नेकपा (एमाले) लुम्बिनी अञ्चलले पार्टीको एउटा सशक्त नेतृत्व गुमाउनु परेको बताउनुभयो । रासस