९ कार्तिक २०८३, सोमबार

मतदातालाई प्रभाव पार्ने गरेर बजेट नल्याउन पूर्व प्रमुख आयुक्तहरूको आग्रह

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्तहरूले कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरि आगामी आर्थिक वर्षको बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार विज्ञप्ति जारी गरेर पूर्व प्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रती, डा.अयोधिप्रसाद यादव र कार्यवाहक पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले २०७८ कात्तिक र मंसिरका लागि प्रस्ताव गरिएको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरी नीति कार्यक्रम वा बजेट ल्याउन नहुने बताए ।

पाँच पूर्व निर्वाचन आयुक्तहरुको विज्ञप्तिमा भनिएको छ, ‘२०७८ कात्तिक, मंसिरमा प्रस्तावित प्रतिनिधिसभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्त भित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं।’

उनीहरूले आफ्नो संवैधानिक दायित्वको ख्यालगरी निर्वाचन आयोगले सम्बद्ध पक्षलाई समयमै सजग गराउनेमा विश्वास लिएको जनाएका छन् ।

संवैधानिक व्यवस्था अनुसार आगामी आर्थिक वर्षको बजेट संसद्‌मा जेठ १५ गते पेस हुनु पर्ने हुन्छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट संसद् विघटनसँगै सरकारले कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको छ ।