न्युयोर्क, १३ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पतिबारेमा ९० दिनभित्र रिपोर्ट बुझाउन गुप्तचर निकायलाई निर्देशन दिएका छन् ।
कोरोनाभाइरस अरु जीवबाट मानिसमा सरेको वा प्रयोगशालाबाट बाहिरिएको विषयमा विवाद र आशङ्का बढिरहेका बेला अमेरिकी राष्ट्रपतिले अध्ययन गर्न निर्देशन दिएका हुन् ।
अमेरिकी गुप्तचर निकायले केही दिनअघि कोरोना भाइरस चीनको एउटा प्रयोगशालाबाट बाहिरिएको हुन सक्ने प्रतिवेदन तयार पारेको थियो ।
कोरोना भाइरस सन् २०१९ को अन्त्यतिर चीनको हुवेई प्रान्तको वुहानमा पहिलो पटक पुष्टि भएको छ ।
वुहानको समुद्री खाद्यान्न बजारबाट मानिसमा कोरोनाभाइरस सरेको चिनियाँ अधिकारीले बताउँदै आएका छन् ।
कतिपयले कोरोनाभाइरस वुहानमा रहेको प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको आशंका गर्दै आएका छन् ।
गएको महिना विश्वस्वास्थ्य संगठनले चिनियाँसहित अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको प्रतिवेदन सार्वजनिक गर्दै प्रयोगशालाबाट कोरोना भाइरस मानिसमा सरेको हुन सक्ने सम्भावना कम रहेको बताएको थियो ।
अमेरिकाले डब्ल्यूएचओसँग भएको स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा अबको अनुसन्धान थप पारदर्शी हुनुपर्ने बताइसकेको छ ।
राष्ट्रपति बाइडेनले कोरोना भाइरसको उत्पतिका सम्बन्धमा हुने अनुसन्धान पारदर्शी हुनुपर्ने बताएका छन् । एजेन्सी















प्रतिक्रिया