१४ कार्तिक २०८३, शनिबार

तेन्जी शेर्पा १८ औँ पटक सगरमाथामा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० जेठ । जिल्लाको खिजिदेम्बा गाउँपालिका–९ खोलाखर्कका तेन्जी शेर्पा १८ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् ।

सुमी ट्रेक मार्फत सगरमाथा आरोहणमा जानुभएका क्लाइम्बिङ गाइड उनी सात आरोहीको नेतृत्व गर्दै शिखरमा पुगेका हुन् ।

सोही कम्पनी मार्फत सगरमाथा आरोहणमा गएका लाक्पा दावा शेर्पाकाअनुसार उक्त टोली आज बिहान ४ः३० बजे शिखरमा पुग्न सफल भएको हो ।

अमेरिकन नागरिक डोन र एरिक तथा बेलायती नागरिक ज्याक सहित उनीहरुका ४ जना सहयोगी शेर्पा क्लाइम्बिङ गाइड सगरमाथाको चुचुरोमा पुगेर फर्केको आधार शिविरबाट क्लाइम्बिङ गाइड लाक्पा दावाले जानकारी दिए । उनीहरु अब तीन दिनमा आधार शिविर आइपुगेर काठमाडौं फर्कने बताइएको छ ।

आइतबार अनुकूल मौसम हुँदा करिब १५० आरोही शिखरमा पुगेका थिए भने आज साउथ समिटमा अत्यधिक हावाका कारण केही आरोही मात्रै शिखरमा पुगेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

आइतबार आरोहण गर्न नसकेका केही समूहका आरोही मात्र शिखर पुगेको भएपनि एकिन विवरण भन्न नसकिने उनको भनाइ छ । जोखिम न्यूनिकरणका लागि एक अर्काबीच भेटघाट नहुँदा विवरण लिन नसकिएको हो ।

यस्तै सयौं आरोही अनुकूल मौसमको पर्खाइमा क्याम्प २ मा रहेको बताइएको छ । तर केही दिन आरोहणका लागि मौसम अनुकूल नदेखिएको सम्पर्क अधिकृत श्रेष्ठले बताए । अब मे २८ र २९ मा आरोहण अनुकूल मौसम हुनसक्ने भएकाले सोही समयको पर्खाइमा आरोही रहेको बताइएको छ । –रासस