
काठमाडौँ, ५ जेठ । निर्वाचन आयोगले उपनिर्वाचनको मौन अवधिमा आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा मत हाल्न वक्तव्यमार्फत अपील गरेका थिए ।
‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तरवार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यस तर्फ आयोगको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचार संहिता समेत लागू भइसकेको सन्दर्भमा आचार संहिता विपरितका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने कुरा स्पष्ट नै छ ।’
आयोगले आचार संहित विपरीत कार्य गर्ने व्यक्ति वा संस्थालाई कारवाही हुनसक्ने चेतावनी समेत दिएको छ ।
बिहीबार हुने उपनिर्वाचनमा बागमती प्रदेश सभा सदस्य ११० जना र बागमती प्रदेश अन्तर्गतका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना मतदाता रहेका छन् । मतदाताहरुलाई बिहीबार ९ बजेदेखि ३ बजेसम्म हुने मतदानमा सहभागी हुन आयोगले अनुरोध गरेको छ ।













प्रतिक्रिया