
काठमाडौँ, ५ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई भोट दिएर जिताउन मतदातालाई अपील गरेका छन् ।
अध्यक्ष ओलीले पार्टीभित्र विवाद रहेको भए पनि पार्टीका उम्मेदवार बादललाई भोट दिएर जिताउन आफ्ना पार्टीका जनप्रतिनिधिहरुलाई अपील गरेका हुन् । जेठ ६ गते उपनिर्वाचन हुँदैछ ।
ओलीले एक वक्तव्य जारी गर्दै यस्तो अपील गरेका हुन् ।
‘अहिले पार्टीभित्र देखापरेका समस्या समाधान गरी पार्टीलाई एकताबद्ध बनाउनका लागि कार्यदल बनेर काम समेत सुरु भैसकेको छ । यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्नु हामी सवैको कर्तव्य हो’ अध्यक्ष ओलीले अपीलमा भनेका छन्, ‘पार्टीको आधिकारिक उमेदवारविरुद्ध उम्मेदवारी दिनु लाखौँ जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा कल्पना बाहिरको कुरा हो ।’ त्यस्तै, ओलीले पार्टीको निर्णयविरुद्ध नजान पनि कार्यकर्तालाई चेतावनी पनि दिएका छन् ।
‘उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने छ । तसर्थ, यस निर्वाचनमा एकताबद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु’, ओलीको आग्रह छ ।













प्रतिक्रिया