नेपागञ्ज, २८ वैशाख । नयाँ भेरियन्टसहित तीव्र रुपमा फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि बाँके जिल्लालाई स्वास्थ्य आपतकाल घोषणा गर्न नेपाली कांग्रेस बाँकेले माग गरेको छ ।
नेपाली कांग्रेस बाँकेका उपलब्ध पदाधिकारीको सोमबार बसेको बैठकले यस्तो माग गरेको हो । बाँकेमा कोरोना महामारी नियन्त्रण बाहिर जाँदा कोरोना संक्रमित बिरामीहरूले उपचारै नपाएर ज्यान गुमाउनु परिरहेको र अस्पतालले समेत थेग्न नसकिरहेको अवस्थामा सरकारले स्वास्थ्य आपतकाल तत्काल घोषणा गर्नुपर्ने कांग्रेसको निस्कर्ष छ ।
बाँकेमा फैलिएको कोरोना महामारीप्रति संघीय सरकार र प्रदेश सरकार गम्भीर नै नभएको कांग्रेसको ठहर छ ।
कांग्रेस बाँकेले जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा अक्सिजन, औषधि र दक्षजनशक्तिसहितको आइसोलेसन स्थापना गर्न अनुरोध पनि गरेको छ ।
अस्पतालमा अहिले पनि कोरोना संक्रमित बिरामीले सहज रुपमा उपचार पाउन नसकेको, अस्पतालमा भर्ना हुनका लागि घण्टौ समय कुर्नु परिरहेको र पहुँच नपुगेका बिरामीले ज्यानै गुमाउनु परेको गुनासो आइरहेको प्रति कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बिरामीहरू कोहीपनि उपचार पाउनबाट बञ्चित नहुने बातावरण बनाइदिन सरकारलाई जोडदार रुपले आग्रह गरेको सभापति किरण कोइरालाले बताइन् ।











प्रतिक्रिया