
काठमाडौं, २४ वैशाख । कोरोना संक्रमित विरामीहरुको चाप बढ्दै जाँदा ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा अक्सिजन आपूर्तिमा समस्या भएको छ ।
अस्पतालले आज शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अक्सिजन आपूर्तिमा कठिनाइ भइरहेको जानकारी गराएको हो । अस्पतालको प्रशासन विभागद्वारा जारी विज्ञप्ति अनुसार कोरोना संक्रमित विरामीको चाप बढ्दै जाँदा अक्सिजनको माग बढेकाले समस्या उत्पन्न भएको हो ।
‘पछिल्लो समय संक्रमितहरुको उपचारमा समस्या देखिन शुरू भएको छ,’ अल्का अस्पतालका सीओओ दीपेन्द्र पोखरेलले भने, ‘अस्पतालमा विरामीहरुको चाप बढ्दै गइरहेको छ अक्सिजन आपूर्तिमा समस्या थपिँदै गइरहेको छ, विरामीहरुको उपचारमा समस्या भइरहेको छ ।’
उनका अनुसार अल्का अस्पताललाई अहिले दैनिक १५० वटा सिलिण्डर आवश्यक पर्छ । ४४ वटा भने अल्का अस्पतालले आन्तरिक उत्पादनबाट व्यवस्था मिलाउँदै आइरहेको उनको भनाइ छ ।
अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन अल्का अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश सरकार, स्थानीय प्रशासन, स्थानीय तह, नागरिक समाज सञ्चारकर्मी लगायत सबैमा अनुरोध गरेको छ ।















प्रतिक्रिया