काठमाडौं, २४ वैशाख । एमाले वाग्मती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ ।
दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा १३ सदस्यीय बोर्ड गठन गरिएको हो । एमालेको दलको बिधान २०७७ को दफा १७ बमोजिम बोर्ड गठन गरिएको बताइएको छ ।
बोर्डको पदेन सदस्यहरूमा दलको उपनेता, प्रमुख सचेतक दीपक निरौला र सचेतक रहने व्यबस्था छ ।
हाल उपनेता र सचेतक रिक्त रहेकाले पछि थप हुने जनाइएको छ । बोर्डमा प्रदेश सांसदहरू अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, विजय सुवेदी, शशिजङ थापा, उर्मिला कर्माचार्य, शान्ती थिङ, सरस्वती बाटी, नारायणबहादुर सिलवाल, सीता लामा र प्रदीप कटुवाल रहेका छन् ।
बोर्डमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पक्षसँगै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूलाई पनि चयन गरिएको छ ।
एमाले वाग्मती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला नियुक्त भएका छन् । तत्कालीन मुख्य सचेतक केशव पाण्डे प्रदेशको आन्तरिक तथा कानूनमन्त्री भएपछि रिक्त रहेको पदमा निरौलालाई मनोनयन गरिएको छ ।











प्रतिक्रिया