हरिवन, २३ वैशाख । सर्लाही जिल्लाको हरिवन नगरपालिकाले कोभिड १९ को बिरामीका लागि १०० शय्याको अस्पताल र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
कोरोना महामारीको नयाँ भेरियन्टसहित दोस्रो लहर सर्लाहीमा पनि तीव्र गतिमा फैलिएपछि नगरपालिकाले अस्पताल र एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।
नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै वडा नम्वर ४ सासापुर स्वास्थ्य चौकीमा अक्सिजनसहितको ४० शय्या र नयाँरोडमा रहेको सर्लाही जीवन हस्पिटलमा ६० शय्याको व्यवस्था गरेको छ ।
नगर प्रमुख गणेश प्रसाइँले नगरका कोही कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भनेर उपचारका लागि स्वास्थ्यकर्मी तयारी अवस्था राखिएको र अक्सिजनसहितको शय्या पनि व्यवस्था गरिएको बताए ।
बिरामीको थप उपचारका लागि अन्यत्र लानुपर्ने अवस्था भएमा २४सै घण्टा अक्सिजनसहितको एम्बुलेन्सको व्यवस्था गरिएको जानकारी दिए ।
कोभिड १९ को महामारीमा कसरी नागरिकलाई सहजरुपमा एम्बुलेन्स सेवा प्रवाह गर्न सकिन्छ भनेर एम्बुलेन्स चालकसँग पनि नगरपालिकाले छलफल गरेको छ ।
नगरपालिकाले चालकहरूले भोग्नु परेको समस्या र आइपर्ने समस्याको बारेमा समेत जानकारी लिएको छ ।
नगरपालिकाले लिएको मानव सेवाको कामलाई सहज रुपमा सेवा प्रवाह गर्न तयार रहेको चालकहरूले प्रतिवद्धता जनाएका छन् ।
नगरपालिकाभित्र विभिन्न अस्पताल तथा संघसंस्थाले सञ्चालन गरेका १३ वटा एम्बुलेन्स छन् ।











प्रतिक्रिया