
काठमाडौं, २० वैशाख । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले तत्काल स्वास्थ्य सङ्कटकाल घोषणा गर्नुपर्ने सुझाव सरकारलाई दिएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारलाई विभिन्न सुझाव दिँदै स्वास्थ्य सङ्कटकाल घोषणा गरी निजी मेडिकल कलेज र अस्पताललाई कोरोना अस्पतालको रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले कोरोनाको उपचार निःशुल्क, सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई पीपीई, मास्क लगायत स्वास्थ्य सुरक्षा सामग्री र घोषणा गरिएका स्वास्थ्यकर्मीको प्रोत्साहन भत्ता तुरुन्तै उपलब्ध गराउन पनि सरकारलाई सुझाव दिएका छन् ।
सरकारले तत्काल गर्नुपर्ने कामहरु भन्दै विभिन्न ८ वटा बुँदामा सुझाव लेख्दै सेना तथा प्रहरी र स्वयंसेवकहरूको सहयोगमा अस्थायी उपचार केन्द्र स्थापना गर्न पहल गर्न पनि आग्रह गरेका छन् । यस्तै निवृत्त स्वास्थ्यकर्मीलाई स्वयंसेवाको आह्वान गर्ने तथा आवश्यक स्वास्थ्य उपकरण, भ्याक्सिन ल्याउन चीनसहित अन्य राष्ट्रसँग थप पहल गर्नुपर्ने सुझाव उनले दिएका छन् ।
त्यसैगरी लकडाउनका कारणले दैनिक छाक टार्नै गाह्रो भएका श्रमिकका लागि राहत प्याकेज उपलब्ध गराई रोकिएको खोप कार्यक्रम पुनः सुचारु गर्न पनि उनले जोड दिएका छन् । पीसीआर टेस्ट गर्ने र खोप लगाउने केन्द्रलाई व्यवस्थित गर्न उनले सरकारलाई सुझाव दिएका छन् ।















प्रतिक्रिया