
दमौली (तनहुँ), १९ वैशाख । जिल्ला युवा समिति तनहुँको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद्अन्तर्गत जिल्ला युवा परिषद् तनहुँको अध्यक्षमा रीता ढकालले पदभार ग्रहण गरेकी हुन् । युवा समितिको अध्यक्ष युवराज आलेको अध्यक्षतामा भएको उक्त पदस्थापन कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला समन्वय समितिका सभापति शान्तिरमण वाग्लेले गरेका थिए ।
समृद्ध राष्ट्रका लागि स्वस्थ, कर्मठ र उद्यम युवा भन्ने मर्मलाई आत्मासात गरेको युवा समितिको पदस्थापनपछि समितिले आफ्नो जिम्मेवारी वहन गर्ने प्रमुख अतिथि शान्तिरमण वाग्लेले बताए । युवाको काँधमा नै देश रहेको र युवा नै देशको मुख्य शक्ति भएकाले युवाको वृद्धि विकासमा युवा समितिले उल्लेखनीय काम गर्नुपर्ने उनको भनाइ छ ।
युवाको यथोचित व्यवस्थापन र क्रियाशील बनाउन सकेमा समाज परिवर्तन गर्न सकिने अतिथिहरूको धारणा थियो ।

पदस्थापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी प्रमुख, सुकुम्वासी समस्या समाधान आयोगका अध्यक्ष दधिराज सुवेदी, व्यास नगरपालिकाका कार्यकारी अधिकृत, आदिवासी जनजाती महासंघ तनहुँका अध्यक्ष बसुन्धरा घर्ती, नेकपा एमाले तनहुँका कार्यालय सचिव राजेश्वर ढकाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेलगायत अतिथिको उपस्थिति थियो ।
युवा समितिकी नवनिर्वाचित अध्यक्ष रीता ढकालले सबैको साथ र सहयोगले संस्थाको मूल्य र मान्यताअनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘सबैको भावना समेटेर युवालाई क्रियाशील बनाउने मेरो मुख्य ध्येय रहने छ,’ अध्यक्ष ढकालले भनिन् ।















प्रतिक्रिया