
मकवानपुर, १८ वैशाख । मकवानपुरमा वैशाख १९ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ ।
शनिबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमितको संख्या ५ सय नाघेकोले निषेधाज्ञाका लागि सिफारिस गरेको थियो । जिल्ला सुरक्षा समितिले मकवानपुरमा आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।
समितिले वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।
बैठकले जिल्लाको हेटौडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिकाको सम्पूर्ण क्षेत्र र मनहरी गाउँपालिकाको पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) को दायाँबायाँ ५ सय मिटरको क्षेत्रमा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
उक्त निर्णय अनुसार, जिल्लामा औषधी उपचार, खाद्य वस्तु तथा अत्यावश्यक सेवाबाहेक अन्य सम्पूण क्षेत्र बन्द हुनेछ ।
त्यस्तै बिहान ५ बजेदेखि ९ बजेसम्मका लागि अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न, मासु, फलफूल तथा तरकारी बिक्री वितरण गर्ने पसलहरु सञ्चालन गर्न पाइने छ ।
सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैङ्किङ तथा वित्तिय क्षेत्रमा कार्यरत कर्मचारीहरूको हकमा सम्बन्धित कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा र समाचार सङ्कलन सम्प्रेषण कार्यमा खटिएका सञ्चारकर्मीहरूको हकमा पहिचान खुल्ने परिचयपत्रका आधारमा आवत जावत गर्न दिने निर्णय गरेको छ ।
लामो दूरीका सवारी साधन, मालवाहक सवारी साधनहरू तथा निर्माण सामग्री ढुवानीका साधनहरु आवत जावत दिइने भएको छ ।
बैङ्क, वित्तीय संस्था तथा सहकारीबाट प्रदान गरिने सेवा स्वास्थ्यका मापदण्ड अवलम्बन गरी आलोपालो विधिबाट बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।
निषेधाज्ञाकाे आदेश:












प्रतिक्रिया