काठमाडौं, १७ वैशाख । काठमाडौं उपत्यकासहित सरकारले निषेधाज्ञा लागू भएका जिल्लाहरूमा कडा आदेशको पालना गर्न आग्रह गरेको छ ।
गृह मन्त्रालयले ७७ वटै प्रशासनलाई परिपत्र गरी आदेश कडाइका साथ लागू गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले आदेशको पूर्ण पालना गरी अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।
शुक्रबारदेखि दाङ जिल्लामा पनि निषेधाज्ञा लागू भएको छ । दाङमा वैशाख २५ गतेसम्म अत्यावश्यकबाहेकका सेवा सञ्चालन गर्न रोक लगाइएको छ ।
पाल्पा र सुनसरीमा शुक्रबार मध्यराति १२ बजेदेखि २४ गतेसम्म, जाजरकोटमा शनिबार मध्य रातिदेखि २५ गतेसम्म तथा सल्यानमा आइतवार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू हुनेछ ।
कोरोना महामारी नियन्त्रण गर्न यसअघि काठमाडौं उपत्यकासहित बाँके, सुर्खेत, कास्की, कैलाली, कञ्चनपुर, पर्सा, चितवन र रुपन्देहीमा जिल्लाभर तथा बाग्लुङ, कालीकोट, बर्दिया र दार्चुलामा सङक्रमण धेरै भएका ठाउँमा निषेधाज्ञा लगाइएको छ ।
सरकारले काठमाडौं उपत्यका र तराईका जिल्लामा ५ सय र हिमाली तथा पहाडी जिल्लामा २ सय सक्रिय सङ्क्रमित देखिए तत्काल निषेधाज्ञा लगाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।
सरकारले बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, कालीकोट, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।











प्रतिक्रिया