काठमाडौं, २० चैत । नेपालमा आगामी वर्षदेखि मंसिर ९ गतेका दिन उद्योग दिवस मनाईने भएको छ । उद्योगमन्त्रालयको सिफारिसमा आज बसेको मन्त्रिपरिषदको बैठकले मंसिर ९ गतेलाई उद्योग दिवसको रुपमा घोषणा गर्ने निर्णय गरेको हो ।
उद्योगमन्त्रालय, योजना शाखा सहसचिव जीतबहादुर थापाले उद्योग दिवसको अवसरमा उद्योग क्षेत्रका विविध विद्यामा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई, ‘विशिष्ट औद्योगिक व्यक्ति’ (आइआइपी) घोषणा तथा पुरस्कृत गरिने बताउनुभयो ।
उहाँले प्रथम पटक नेपालमा मनाउन थालिएको उद्योग दिवसलाई सप्ताव्यापीरुपमा भव्यरुपमा मनाउन आजैदेखि उद्योगमन्त्रालयले सघनरुपमा गृहकार्य थाल्ने जानकारी दिनुभयो ।
सहसचिव थापाले अधिकतम रोजगारी, राजश्व, स्वदेशी कच्चा पदार्थ प्रयोग तथा स्वदेशी वस्तु निर्यात, हस्तकला तथा परम्परागत क्षेत्रका व्यवसाय सञ्चालन लगायतका आधारमा ‘विशिष्ट औद्योगिक व्यक्ति’ चयन गरिने जानकारी दिनुभयो ।
साथै उहाँले नेपालमा प्रथम पटक उद्योग परिषद्को स्थापना भएको मिति वि।सं १९९२ मंसिर ९ गतेलाई आधार मानी हरेक बर्ष मंसिर ९ गतेलाई उद्योग दिवसका रुपमा मनाउन लागिएको जानकारी दिनुभयो ।
सहसचिव थापाले मुलुकभर विभिन्न कार्यक्रका साथ मनाइने उद्योग दिवसले देशमा औद्योगिक विकास र प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।















प्रतिक्रिया