रुकुम, २० चैत । नेपाल पत्रकार महासंघको ६० औँ स्थापना दिवसको अवसरमा रुकुम शाखाको १२ औँ बैठक रुकुमको तकसेरामा सम्पन्न भएको छ ।
आगामी बैशाख १ देखि ५ गतेसम्म तकसेरामा हुन गईरहेको आदिवासी जनजाति कला साँस्कृतिक महोत्सवको प्रचार प्रसारमा सहयोग पुर्याई आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि चैत्र १६ गते महोत्सव मूल आयोजक समितिसँग समन्वयात्मक बैठक बसेको हो ।
बैठकले तकसेरा लगायत रुकुम जिल्लाको पूर्वी विकट गाविसको विकासका लागि जिल्लास्थित सरोकारवालाको ध्यानाकर्षण गराउन एक अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यस्तै उक्त जनजाति महोत्सवलाई भव्य रुपले सफल बनाउन पत्रकारहरुको तर्फबाट प्रचार प्रसार कार्यलाई तिव्रता दिने र महोत्सव समापनपछि सल्लाहसुझाव र पृष्ठपोषण दिने निर्णय पनि बैठकले गरेको छ ।
स्थापना दिवसको सन्दर्भ पारेर बसेको उक्त बैठकले नेपाल पत्रकार महासंघ रुकुमका शाखाको भवन निर्माण कार्य यथासिघ्र अगाडि बढाउने, जिल्लाको आन्तरिक पर्यटन प्रवद्र्धनमा साझेदारीको भूमिका निर्वाह गर्ने लगायतका निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश चिन्तनको अध्यक्षता र सचिव सुरेन्द्र खत्रीको सञ्चालन रहेको उक्त बैठकमा नेपाल पत्रकार महासंघ रुकुमका संस्थापक अध्यक्ष तथा सल्लाहकार नारायणकुमार शाह, महोत्सव मूल आयोजक समितिका उपाध्यक्ष सतमान पुन, महासचिव जुद्ध बुढामगर, अन्य पदाधिकारी तथा सदस्य, पत्रकार महासंघ रुकुमका पदाधिकारी एवं सदस्य, पर्यटन सूचना केन्द्र रुकुमका प्रतिनिधि गोपाल केसी, युवा समन्वय समिति रुकुमका अध्यक्ष भिमराज खड्का, स्थानीय बुद्धिजीवि समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
बैठकमा बोल्दै महोत्सव मूल आयोजक समितिका पदाधिकारीहरुले पत्रकार महासंघले आफ्नो बैठक गरेर तकसेरालाई चिनाउन र प्रचार गर्न मद्दत पुग्ने भन्दै धन्यवाद ज्ञापन गरेका थिए । उनीहरुले आफ्नो गाउँको रहनसहन, चालचलन, रितीथिति र संस्कारलाई प्रचार प्रसार गरी उक्त रमणीय बस्तीमा पर्यटक भित्र्याउन सहयोगका लागि आग्रह समेत गरेका थिए ।
स्थानीयवासीका समस्या, चूनौति र सम्भावनालाई मध्यनजर गर्दै महासंघले उक्त समस्या समाधानका लागि सेवाप्रदायक निकाय र स्थानीयवासीको मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश चिन्तनले बताए ।
उनका अनुसार बैठकले तकसेरासम्म पुग्नको लागि सहयोग गर्ने जिल्ला विकास समितिको कार्यालय रुकुम र न्यानो आतिथ्यता प्रदान गर्ने महोत्सव मूल आयोजक समितिप्रति आभार व्यक्त गरेको छ
















प्रतिक्रिया