बारा । रोजगारीका क्रममा भारत पुगेका दुई नेपाली युवाको विहारको छाप्रा जिल्लास्थित एक रेल्वे स्टेसन नजिक शव फेला परेको छ। गुजरातबाट घर फर्किंदै गरेका बारा जिल्ला निजगढ गाविस–२ का ३० वर्षीय राजु वल र मकवानपुर धियाल गाविस–८ का ४० वर्षीय पूर्णबहादुर वाइबाको छाप्रास्थित टेकनिवास स्टेसन नजिक रेलको लिकमा बिहीबार बेवारिसे अवस्थामा शव फेला परेको खबर आजको नेपालसमाचार पत्रमा छापिएको छ।
मृत्युको खबर पाएलगत्तै मृतक राजु र पूर्णका आफन्त शनिबार दिउँसो अञ्चल प्रहरी कार्यालय वीरगन्जको समन्वयमा विहारतर्फ लगेका छन्। भारतको प्रभात खबर पत्रिकाले छापेको समाचारको आधारमा छाप्रामा बस्दै आएका मकवानपुर हटिया गाविसमा मामाघर बताउने अर्का एक नेपालीले मृत्युको खबर सुनाएपछि आफन्तले घटनाबारे जानकारी पाएका थिए। उनका अनुसार प्रभात खबर पत्रिकाले प्रहरीको भनाइ उद्धृत गर्दै रेल्वे दुर्घटनमा दुवैको मृत्यु भएको उल्लेख गरेको थियो।
आफन्तले भने अज्ञात समूहले नियन्त्रणमा लिएर उनीहरूको हत्या गरेको हुन सक्ने आशंका गरेका छन्। भाइ विष्णुका अनुसार दुई साताअघि निजगढस्थित घरमा भाउजू लीलामायालाई मोबाइलबाट फोन गरेर राजुले आफूहरू विहारमा समातिएको र मारिन पनि सक्ने बताएका थिए। ‘यताबाट पछि सोही नम्बरमा फोन गर्दा सम्पर्क हुन नसकेपछि त्यसै बसेका थियौं’, राजुले भने– ‘तर आज कल्पना नगरेको समाचार सुन्नुपर्यो।’ रोजगारीका लागि यसअघि पनि दुईपटक भारत पुगेर घर फर्किएका दुवै जना दुई महिनाअघि मात्र गुजरात पुगेका थिए।











प्रतिक्रिया