६ कार्तिक २०८३, शुक्रबार

गोरखा भूकम्पको छैटौँ स्मृति दिवसमा विशेष कार्याशाला गोष्ठी आयोजना गर्दै प्राधिकरण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । ६ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको आज छैटौँ स्मृति दिवस हो ।

यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्ने कार्यक्रम छ ।

विसं २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पले ८ हजार ९७९ जनाको निधन भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए ।

भूकम्पले करिब १० लाख निजी आवास, ७ हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, ५४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो । यसैगरी ४१५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका १७० सम्पदासहित ९२० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३८३ भवनमा क्षति पुगेको थियो । तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र २९९ मानव बस्तीमा क्षति पुगेको तथ्याङ्क प्राधिकरणसँग छ ।

गोरखा भूकम्पले ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो ।

यसैगरी सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए ।