३ कार्तिक २०८३, मंगलबार

गीतकार उपाध्यायले बनाए गीत संगीतको ५१ वटा विधामा विश्व रेकर्ड

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । गीतकार डीआर (धर्मराज) उपाध्यायले गीतसंगीतको ५१ वटा विधामा विश्व कीर्तिमान कायम गरेका छन् ।

विभिन्न फरक–फरक शैलीका गीतसंगीत तयार गरेर उनले विश्वका तीन दर्जन भन्दा बढी विश्व रेकर्ड संस्थाबाट ५१ वटा विधामा विश्व रेकर्ड बनाएका हुन् । यसअघि विभिन्न ३२ वटा विधामा गिनिज अफ वल्र्ड रेकर्डसहित विभिन्न रेकर्ड बनाएका डा. उपाध्यायले हिजो सोमबार फेरि गीतसंगीतसम्बन्धी थप १९ वटा विधामा नयाँ रेकर्ड बनाएका हुन् ।

उनले यसपटक अमेरिकन बुक अफ वल्र्ड रेकर्ड, युरोपियन बुक अफ रेकर्ड, द ब्रिटिस वल्र्ड रेकर्ड, एशियन वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम, आसाम वल्र्ड रेकर्ड, बँगाल वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रेकर्ड, चम्पियन वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, दुवई वल्र्ड ट्यालेन्ट बुकमा १९ फरक विधामा विश्व कीर्तिमानी बनाएका हुन् ।

सोमबार राजधानीमा एक समारोहबीच पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले गीतकार तथा साहित्यकार डा. उपाध्यायलाई यी सबै वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरे ।

यस पटक उनले १५० वटा भन्दा बढी देशको पर्यटन स्थलको नाममा गीत तयार गरेर, सबैभन्दा छोटो १८ अक्षरको गीतसंगीत तयार गरेर, एकै दिनमा चार वटा गीत लेखेर, रेकर्ड तथा रिलिज गरेर, १७५ देशका मुद्राहरुको नाममा गीतसंगीत तयार गरेर, क देखि ज्ञ सम्म ३४ वटा प्रत्येक वर्णको गीत लेखी पुस्तक ल्याएर नयाँ नयाँ वल्र्ड रेकर्ड बनाएका हुन् ।

यस्तै ५५ वटा फरक–फरक फुलको नाममा गीत लेखी रेकर्ड गराएर, सबैभन्दा धेरै पटक आमा तथा धेरै पटक बुबा शब्द प्रयोग गरी गीत रेकर्ड गराएर, विश्वका १६४ प्रजातिका चराको नाम समेटेर बनाइएको गीत रेकर्ड गरेर उनले नयाँ कीर्तिमानी बनाएका हुन् ।

यस्तै आफ्ना गीतहरु चिया पिउने सबैभन्दा बढी कपमा छापेर, सबैभन्दा बढी पोष्टकार्डमा छापेर, सकारात्मक सोचमा फाईदासम्बन्धी गीत तयार गरेर, ६० वर्ष नाघेका ११ जना गायक गायिकाको स्वरमा एकै पटक गीत रेकर्ड गराएर डा. उपाध्यायले नयाँ कीर्तिमान कायम गरेका हुन् ।