मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

६ खर्ब ८७ अर्ब बढी राजस्व संकलन

दैनिक नेपाल २०७८ वैशाख ६ गते ८:१३

काठमाडौं, ६ वैशाख । सरकारले आइतबारसम्ममा कुल ६ खर्ब ८७ अर्ब ६० करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

यो चालू आर्थिक वर्षको कुल लक्ष्यको ६७.९६ प्रतिशत हो । सरकारले चालू आव २०७७-७८ मा १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । हालको अवस्था हेर्दा आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा लक्ष्य भेट्न कठिन हुने देखिएको छ ।

सरकारले आइतबारसम्ममा कर राजस्वतर्फ लक्ष्यको ७० प्रतिशत उठाइसकेको छ । ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख लक्ष्य रहेको कर राजस्वमध्ये ६ खर्ब ४० अर्ब २५ करोड ४१ लाख उठेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । गैरकरतर्फ भने ४७.९२ प्रतिशत मात्र राजस्व उठेको छ । ९८ अर्ब ८० करोड ९४ लाखको लक्ष्यमध्ये र ४७ अर्ब ३५ करोड ३ लाख राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७७-७८ को गत फागुनसम्ममा संघीय सरकारको कुल राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले वृद्धि भई ५ खर्ब ७१ अर्ब २० करोड रुपैयाँ पुगेको थियो । चालू आवको फागुनसम्ममा भन्सार महसुलमा २४.५ प्रतिशतले वृद्धि भएको थियो भने आयकरको संकलनमा ५.४ प्रतिशतले कमी आएको थियो । सो अवधिसम्ममा गैरकर, आयकर र अन्य कर संकलनमा क्रमशः ११.७ प्रतिशत, ५.४ प्रतिशत र १.१ प्रतिशतले कमी आएको थियो भने अन्य शीर्षकको कर संकलनमा वृद्धि भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार फागुनसम्ममा भन्सार बिन्दुमा संकलन हुने राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.३ प्रतिशतले वृद्धि भई २ खर्ब ६० अर्ब ४० करोड रुपैयाँ पुगेको थियो । सो अवधिमा आन्तरिक करतर्फको राजस्व परिचालन ०.९४ प्रतिशतले संकुचन भइ २ खर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

पछिल्ले पाँच वर्षको फागुनसम्म राजस्व परिचालन क्रमशः बढ्दै गएको छ । यद्यपि, पछिल्ला वर्षमा राजस्व परिचालनको वृद्धि दर भने तुलनात्मक रूपमा न्यून रहेको देखिन्छ । वित्तीय संघीयताको कार्यान्वयनसँगै घरबहाल कर, रजिस्ट्रेसन कर र सवारीसाधन कर परिचालनको अधिकार संघीय सरकारमा नरहने संवैधानिक व्यवस्थाको कारण पछिल्ला वर्षमा वृद्धिदर न्यून देखिएको हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार भन्सार महसुल दर २२ प्रतिशत उठेको छ । गत वर्ष सोही अवधिमा १९ प्रतिशत उठेको थियो । यसैगरी, मूल्य अभिवृद्धि कर ३१ प्रतिशत उठेको छ । गत वर्ष सोही अवधिमा ३० प्रतिशत उठेको थियो । अन्तशुल्क भने गत वर्ष र यसवर्ष वराबर रूपमा १५ प्रतिशत उठेको छ । आयकर गतवर्षको फागुनसम्ममा २५ प्रतिशत उठेकोमा चालू आवको फागुनसम्ममा कुल राजस्वको २२ प्रतिशत उठेको छ । गैरकर गत वर्ष ९ प्रतिशत पुगेकोमा यस वर्ष ८ प्रतिशतमा सीमित भएको छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०७७÷७८ को फागुन महिनासम्मको कुल राजस्वमा भन्सार महसुल र मूल्य अभिवृद्धि करको हिस्सा गत वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको छ भने आयकर र गैरकर राजस्वको हिस्सा केही घटेको छ ।

चालू आर्थिक वर्षको फागुनसम्म संघीय सरकारको राजस्व परिचालन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४ खर्ब ८२ अर्ब २१ करोड रुपैयाँको तुलनामा ४.४ प्रतिशतले वद्धि भई ५ खर्ब ३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यस अवधिमा प्रदेश र स्थानीय तहमा बाँडफाँड हुने कर राजस्व गत आर्थिक वर्षको ६४ अर्ब ६३ करोड रुपैयाँको तुलनामा ४.६ प्रतिशतले वृद्धि भई ६७ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ, आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित