काठमाडौं, २० चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा ७० करोड रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गर्ने भएको छ ।
आयोगले बोर्डका तत्कालीन कार्यकारी निर्देशक सुवास निरौलासहित ५० जनालाई प्रतिवादी बनाएको छ ।
विशेष अदालतका रजिस्ट्रार नातिबाबु लामिछानेले समय अभावका कारण बिहीबार पेस भएको आरोपपत्र दर्ता गर्न नसकिएको बताए ।
‘ठूलो आकारको बिगो र प्रतिवादीको संख्या धेरै भएकाले समय व्यवस्थापन गर्न सकिएन’, लामिछानेले भने, ‘शुक्रबार दर्ता गर्ने कुरा भएको छ ।’ अख्तियार स्रोतका अनुसार केही सचिव, सहसचिवलगायतलाई प्रतिवादी बनाइएको छ ।
पर्यटन बोर्डमा भ्रष्टाचार भएको भन्दै पर्यटन व्यवसायी आन्दोलित भएपछि संसदको सार्वजनिक लेखा समितिले छानबिन गरेको कान्तिपुर दैनिकले छापेको छ ।
वैदेशिक अध्ययन, पर्यटन प्रवर्द्धन, खरिद, भत्ता सुविधालगायत शीर्षकमा भ्रष्टाचार भएको भेटिएको निर्णयसहित लेखा समितिले थप छानबिन गरी कारबाहीका लागि अख्तियारमा फाइल पठाएको थियो ।
करिब ६ महिनाको अवधिमा अख्तियारले अनुसन्धान सम्पन्न गरेको हो ।















प्रतिक्रिया