काठमाडाैं, १ वैशाख । एमाले संस्थापन पक्षलाई चुनौती दिँदै समानान्तर समिति गठन गरिरहेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहसँग एकताको सम्भावना करिबकरिब सकिएको अध्यक्ष केपी ओली पक्षले जनाएको छ। पार्टीभित्र आन्तरिक संघर्षमा जुटेको खनाल–नेपाल पक्षका पछिल्ला अभिव्यक्ति र गतिविधिले गर्दा एकता कायम राख्नुको औचित्य नभएको र त्यसको सम्भावना पनि टरेको निष्कर्ष ओली समूहले निकालेको छ।
‘माधव नेपालले पछिल्लो समयमा जुन अभिव्यक्ति दिनुभएको छ, त्यसले पार्टी एकता कायम रहन्छ भन्ने सोच्न पनि सकिन्न, उहाँकै कारण हजारौं नेता कार्यकर्ताको राजनीतिक भविष्य अन्योलमा पर्दैछ’, ओली पक्षका एक प्रभावशाली नेताले भने। उनका अनुसार पार्टी एकताको पक्षमा धेरै काम गरिए पनि नेपाल पक्षका नेताले पछिल्ला दिनमा जेजस्ता गतिविधि गरेका छन्, त्यो बिल्कुलै पार्टी हितविपरित भएकाले अध्यक्ष ओलीले आन्तरिक छलफलमा सहकार्य असम्भव जस्तै रहेको बताउन थालेका छन्। यसबाट एमाले मिलाउनुपर्छ भनेर लागेका दुवै पक्षका सम्पर्क सूत्र पनि निराश भएका छन्। ‘
‘माधव नेपाल र केपी शर्मा ओली मिलेमा कम्युनिस्ट आन्दोलनले एउटा उचाइ लिन्छ, त्यसका लागि पहिलो चरणमा एमाले एकताबद्ध हुनु आवश्यक छ’, बालुबाटार र कोटेश्वरबीच सम्पर्क सूत्रको काम गरिरहेका एक नेताले भने। एकताका लागि गरिएका कोसिस असफल हुँदै गएपछि दुवैतिरका सम्पर्क सूत्र दुईतीन दिनयता निराश देखिएका छन्। नेपाल पक्षले समानान्तर कमिटी बनाउन थालेपछि उनी पक्षका र ओली पक्षका अत्यन्त विश्वासपात्रको रूपमा रहेका नेताहरूले दुवैतिर सम्पर्क सूत्रको काम गर्दै आएका थिए।
एमालेभित्रको विवाद विदेशमा रहेका पार्टी कमिटीमा पनि देखिएको छ। खनाल–नेपाल समूहले मुलुकभित्र मात्र नभई विभिन्न १३ देशमा समानान्तर कमिटी घोषणा गरेको छ। यो समूहले मुलुकका ६७ जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको छ। खनाल–नेपाल समूहले पार्टी संस्थापन पक्षलाई चुनौती दिन थालेपछि अध्यक्ष ओली पक्ष पनि आक्रामक बन्दै गएको छ। एमाले वरिष्ठ नेता नेपालले मंगलबार भर्चुअल कार्यक्रममार्फत विभिन्न १३ मुलुकमा समानान्तर समिति घोषणा गरेका हुन्। तराई–मधेसमा समेत नेपाल स्वयंले संगठन निर्माण गर्दै जिल्ला कमिटी घोषणा गरिरहेका छन्।
‘नेपाल पक्ष पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारविरुद्ध पनि देखिएको छ। नेपाल पक्षले आफ्नै पार्टीको सरकारविरुद्ध अविश्वासको प्रस्ताव आए पक्षमा मतदान गर्ने वा फ्लोर क्रस गर्नेजस्ता अभिव्यक्ति दिँदै आएको छ। यसले पार्टी एकतालाई बचाउँछ कि फुटाउँछ’, ओली पक्षका ती नेताले भने।
सरकारमा समेत सहभागी रहेका ती नेताले धेरैपटक पार्टी एकताको पक्षमा दोस्रो तहका साथीहरूसँग छलफलमा रहेको तर नेता नेपालको गतिविधिबाट उत्साह सेलाएको बताए। सम्पर्क सूत्रका रूपमा काम गरिरहेका नेताहरू पनि नेपालसामु निरीह रहेको ओली पक्षका ती नेताले बताए। ‘मसहितका केही साथीले मिलाउन सकिन्छ कि भनेर धेरै प्रयास गरेका थियौं तर खास परिस्थिति अनुकूल हुन सकेन। अब भने एकता गर्नुभन्दा फरक पार्टीमा रहे जाती हुने देखियो’, ती नेताले भने।
ओलीले नेपाल पक्षका नेताहरूलाई थप कारबाही गर्ने संकेत गरिसकेका छन्। उनले आफूलाई हटाउन प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिँदै आएका छन्। ओलीले आफ्नो पक्षका नेताहरूलाई नेपाल समूहले कारबाही गरेपछि कारबाही गर्न आफूलाई पनि आउने बताएर थप कारबाहीको संकेत दिएका हुन्। नेपाल पक्षले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै निष्कासन गरेको छ। यसबाट झनै आक्रोशित ओली नेपाल पक्षका नेताहरूलाई थप कारबाही गर्ने सोचमा पुगेका हुन्। टपेन्द्र कार्कीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया