मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

संसदीय प्रजातन्त्र मान्ने कांग्रेसले मध्यावधीलाई स्वीकार गर्नुपर्छः गोविन्द भट्टराई

दैनिक नेपाल २०७७ चैत २९ गते ९:०८

तनहुँ, २९ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले संसदीय प्रजातन्त्र मान्ने कांग्रेसले मध्यावधीलाई स्वीकार गरेर निर्वाचनको तयारीमा लाग्नपर्ने बताएका छन् ।

गृहजिल्ला तनहुँको ब्यास नगरपालिका– ६, शिसाघाटमा विष्णु जमरकट्टेल स्मृति प्रतिष्ठानले शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले सरकार बनेन भने निर्वाचनमा जानुपर्ने बताए । उनले कात्तिक वा मंसिरमा निर्वाचन हुने घोषणा गरेका छन् ।

‘देश ढिलो चाँडो चुनावमा जानुपर्छ । यदि सरकार बनेन भने के गर्ने ?’, उनले प्रश्न गर्दै भने, ‘सरकार बनाउने हो । यदि बनेन भने के गर्न त ? आखिर निर्वाचनको कुनै बिकल्प छैन ।’

उनले भने, ‘देश ढिलोचाँडो निर्वाचनमा जान्छ । निर्वाचन कात्तिको अन्त्य वा मंसिर महिनामा जहिले पनि हुन सक्छ । कांग्रेस जस्तो पार्टीले निर्वाचनलाई स्वीकार गरेर जानुपर्छ । संसदीय पद्धति भएकै ठाउँमा निर्वाचन हुन्छ नि’, उनले जोडदिएर भनेका छन् ।

‘बेलायतको प्रधानमन्त्रीले मध्यावधी घोषणा गर्दा त्यहाँको प्रतिपक्ष दलले तैले चला भनेर त भन्दैन ?’, प्रश्न गर्दै उनले भने, ‘नरेन्द्र मोदीले पनि भारतमा मध्यावधी गरे भने त्यहाँका दलहरूले तपाईले नै चलाउनुस् भन्दैनन् ।’

‘प्रतिपक्ष दलले चुनावलाई स्वीकार गरेर जानुभन्दा अर्को कुनै बिकल्प छैन’, भट्टराईले भने, ‘ढिलोचाँडो चुनाव हुन्छ । तपाईहरू चुनावको तयारी गर्नुस् ।’

नेता भट्टराईले भनेका छन्, ‘कांग्रेसलाई समाप्त पारेर कम्युनिस्ट व्यवस्था स्थापना गर्नको लागि व्यक्ति हत्याको राजनीति गरे । कांग्रेसलाई हिजोका दिनमा पञ्च र कम्युनिस्टले आक्रमण गर्थे । अहिले पनि निरन्तरता छ । केही समय शान्ति देखिएता पनि कम्युनिस्ट विचार जीवित रहँदासम्म जति बेला पनि अशान्ति हुन सक्छ ।’

‘कम्युनिस्ट विचार भनेको जनतालाई लुट्ने विचार हो । मान्छेको सम्पति अधिग्रहण गर्ने, व्यक्तिगत सम्पत्ति राख्न नदिने, राज्यले नै लुटपाट मच्चाउने सिद्धान्त हो’, भट्टराईले भने, ‘कम्युनिस्टका कार्यकर्ताले नै लुटपाट मच्चाउने भइहाले । न शान्ति हुन्छ, नविकास हुन्छ, न स्थायित्व हुन्छ ।’

‘हत्या गरेको देखिकन संसारभरि रसिया, युरोप, हँगेरी, युगोस्लाभियादेखि रुमानियासम्म यत्रो हत्या देखेर पनि मान्छेहरूले कम्युनिस्टलाई भोट हालेको देख्दा मलाई विचित्र लाग्छ’, उनले भने, ‘यही हत्याको विचार बोकेर हिँडिरहेका छन् ।’

‘कार्लमाक्स र एंगेल्सले देश बनाउने होइन, हत्या गर्नको लागि कम्युनिस्टलाई लाइसेन्स दिए जस्तो मेनुफेस्टो बनाएर दिएका छन्’, कांग्रेस नेता भट्टराईले भनेका छन् ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य शंकर भण्डारी, ध्रुब वाग्ले, नेपाली कांग्रेस तनहुँका सभापति बैकुण्ड न्यौपाने लगायतका नेताहरूले स्व.विष्ण जमरकट्टेलले प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदान स्मरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित