गाइघाट, २८ चैत । एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले उदयपुरमा समानान्तर कमिटी गठन गरेको छ ।
वरिष्ट नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उप–महासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी ६ महिनाका लागि निलम्बनको कारबाहीपछि चर्केको अन्तरसंघर्षको क्रममा देशव्यापी समानान्तर कमिटी निर्माणको क्रमलाई सो समूहले तीव्रता दिएको हो ।
उदयपुरमा जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष ईश्वरमणि राउतकै अध्यक्षतामा समानान्तर कमिटी निर्माण भएको पार्टीले जनाएको छ ।
पार्टीको २०५ सदस्यीय समानान्तर जिल्ला कमिटीमा अध्यक्ष राउत स्वयं छन् । उपाध्यक्षमा कैलाश बस्नेत, सचिव जयराम पञ्जियार थारू र उपसचिवमा गीता खड्का छन्। समानान्तर कमिटीलाई एमाले पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले शपथ गराएका छन् ।
अध्यक्ष राउत र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलदेव चौधरी आफ्नै समूहमा रहेकाले जिल्ला पार्टीदेखि सबै जनवर्गीय संगठनमा एमालेका समानान्तर कमिटी गठन गर्ने क्रम चलिरहेको पार्टीले जनाएको छ ।
शपथ लिइसकेको जिल्ला नेतृत्वले आगामी ३ महिनाभित्र जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटै स्थानीय तह तथा ७५ वटै वडामा पार्टीको समानान्तर कमिटी गठन गरिसक्ने निर्णय गरेको छ।
जिल्लाका धेरैजसो स्थानीय तह र वडा कमिटीहरू आफ्नै समूहका रहेकाले त्यसैलाई कायम राखिने छ भने ओली समूहले खोसेका केही ठाउँमा नयाँ कमिटी गठन गर्ने अध्यक्ष राउतले बताए ।
पार्टीसँगै समूहले एमालेका सबै जनवर्गीय संगठनको पनि समानान्तर कमिटी गठन गर्ने क्रम चलिरहेको राउतले बताए ।
युवा संघ, अनेरास्ववियु, अनेमसंघ गठन भइसकेको र मजदुर संगठन, जनसांस्कृतिक महासंघ, किसान महासंघ र जनसम्पर्कलगायत अन्य जनवर्गीय संगठनका समानान्तर कमिटी पनि छिट्टै तल्लो तहसम्म गठन गरिसक्ने पार्टीले जनाएको छ ।











प्रतिक्रिया