मलंगवा, १९ चैत । सर्लाहीको मलंगवामा सुशीलकुमार यादवको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार बिहान साढे ८ बजे टाउको नै काटिएको अवस्थामा मलंगवा नगरपालिका–९ पचगछिया चौरीस्थित नागेश्वर रायको खेतमा शव फेला परेको थियो ।
यादवको जिउ भेटिएको स्थानभन्दा करिब ६० मिटर टाढा दक्षिणमा टाउको पनि भेटिएको थियो ।
प्रहरीले मलंगवा– १० कै ४५ वर्षीय विमलकान्त पाठक र भारत बिहारस्थित सीतामढीका ४१ वर्षीय अशोक झालाई पक्राउ गरेको छ । अशोक झा विमलकान्तका भान्जा हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन कुँवरले सुशीलकुमार यादवको बुधबार राति ११ बजे हत्या भएको बताएका छन ।
बुधबार राति ८ बजे विमलकान्त र भान्जा अशोक झा मलंगवा–१० को जिविस चोकस्थित कुन्दन यादवको शिवम होटलमा गएका थिए ।
विमलकान्त र अशोकले सुशीललाई लागुऔषध खुवाएर लठ्याएर पूर्वयोजना अनुसार हत्या गरेको डीएसपी कुँवरले बताए ।
‘सुशीलले ६ महिनाअघि विमलकान्तको घरमा चोरी गरेको रहेछ । हत्या गरेको केही दिनअघिमात्रै पनि चोरी गरेको थियो । त्यही कुरामा उनीहरूबीच पटकपटक झगडा हुने गर्थ्यो । त्यसैले मार्ने योजना बनाएका रहेछन्’, कुँवरले भने ।











प्रतिक्रिया