५ कार्तिक २०८३, बिहिबार

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । दाङ, सुनसरी र जुम्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले उपलब्ध गराएको जानकारी अनुसार दाङको बबई गाउँपालिका–३ पिसीओ चोकमा रा.६ प १४४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–५ का २० वर्षीय गोविन्द पुनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै सुनसरीको दुहबी नागरपालिका–१० नहरचोकस्थित सडकमा को.९ प ७००० र को.४ प ६११२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा को. ४ प ६११२ नम्बरको मोटरसाइकल चालक सुनसरी गढी गाउँपालिका–२ सखुवारे कलरुवाका ३२ वर्षीय सञ्जय चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका को.९ प ७००० नम्बरको मोटरसाइकल चालकको जीवन ज्योति अस्पताल दुहबीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी जुम्लाको तिला गाउँपालिका–५ चुलाकोटस्थित सडकमा भे.२ त ५०४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने नन्दबहादुर बुढाको ६ वर्षीय छोरा अंकुश बुढाको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।