
काठमाडौं, १७ चैत । नेपाल प्रहरीले आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन गरेको तालिमहरुको समीक्षा तथा आर्थिक वर्ष २०७८/०७९ को तालिम योजनासहितको तालिम क्यालेण्डर निर्माणसम्बन्धी गोष्ठी शुरू भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा शुरू भएको गोष्ठीको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले आज मंगलबार उद्घाटन गरे । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले समीक्षा नै स्वमूल्याङ्कन भएको उल्लेख गर्दै विगतका वर्षमा क्यालेण्डरमा उल्लेखित तालिमहरु कति हदसम्म गराउन सफल भइयो र तालिम सञ्चालन गर्ने क्रममा के–कस्ता चुनौती आइपरे भन्ने आधार मानेर आगामी वर्षका क्यालेण्डरहरु निर्माण गरिने बताए ।
तालिम क्यालेण्डर नै तालिम योजना, रोड म्याप र पथप्रदर्शक भएकोले प्रतिष्ठानले संगठनका सबै तालिम प्रदायक निकायको सहभागितामा समूहगत छलफल महत्वपूर्ण हुने उनको भनाइ छ । तालिम सञ्चालन गर्नुपूर्व तालिमको औचित्यता, समयसापेक्षता, लक्षित समूहको आवश्यकता, बजेट, पाठ्यक्रम र प्रहरी कर्मचारीको वृत्ति विकास लगायतका विषयलाई आधार मानेर योजना निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
३ दिनसम्म सञ्चालन भई बिहीबार समापन हुने उक्त गोष्ठीमा सांगठनिक आवश्यकता, प्रदेशको जनशक्ति, बजेट, प्रशिक्षण संस्थाको विशिष्टिकृत उद्देश्य, प्रशिक्षण निकायमा उपलब्ध श्रोतसाधन, तालिमको औचित्यता, तालिम प्रहरी नियमावली बमोजिम समूहकृत छ छैन, पाठ्यक्रम लगायतका विषयमा प्रस्तुतिकरण तथा छलफल गरिने कार्यक्रम रहेको छ ।
गोष्ठीमा प्रहरी प्रधान कार्यालयस्थित सबै विभाग, निर्देशनालयहरू, ब्यूरोहरू तथा तालिम प्रदायक शाखाका प्रतिनिधि, अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय भरतपुर चितवन, प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहा नवलपरासी, सबै प्रदेश प्रहरी तालिम केन्द्रहरू र महानगरीय प्रहरी शिक्षालय महाराजगञ्जका प्रमुख तथा तालिम शाखाका प्रमुखहरुको सहभागिता रहेको छ ।















प्रतिक्रिया