
काठमाडौं, १७ चैत । नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तत्कालीन समयमा लेखिएको १९ पृष्ठ लामो ‘अराजनीतिक’ आरोपपत्रमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
पार्टीले सोधेको स्पष्टीकरणको जवाफ पेश गर्दै भुषालले ओलीले आरोप लगाएको कुनै पनि घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका हुन् । ‘ममाथि लगाइएका ४ वटामध्ये पहिलो आरोप तात्कालीन पार्टीका कार्यकारी अध्यक्ष ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीकाविरुद्धमा १९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप तयार गर्न… पुष्पकमल दाहालको मतियार समेत भइ पार्टी हितविपरीत कार्य गरेको’ भन्ने छ । प्रथमतः तपाईंले आरोपित गरेको घटनामा मेरो कुनै संलग्नता छैन,’ भुषालले लेखेका छन् ।
उक्त आरोपपत्र तयार गर्नमा आफ्नो संलग्नता नभएको ओली पक्षकै धेरै नेताहरुलाई राम्रो जानकारी भएको दाबी समेत उनले गरेका छन् । उक्त विषयसँग मुछेर आफूविरुद्ध गलत प्रचारको सामग्री बनाउन खोजिएको भन्दै उनले भनेका छन्, ‘अहिले मेराविरुद्ध प्रचारको सामग्री बनाउन जानाजान यो कथा बुनिएको छ, त्यसैले त्यो मेराविरुद्धको निर्वस्त्र षडयन्त्र हो ।’
त्यस्तै उनले आफ्नो रहस्यपूर्ण कृत्यहरु ढाकछोप गर्न ओलीले अरुमाथि जथाभावी आरोपहरु लगाउन थालेको दाबी समेत गरेका छन् ।















प्रतिक्रिया