
काठमाडौं, १६ चैत । नेपाल पत्रकार महासंघले पाँच हजार जना पत्रकारहरुको सदस्यता खारेज गरेको बताएको छ ।
गैर पत्रकारहरुलाई हटाएर व्यावसायिक पत्रकारिता गर्नेहरुको प्रवर्धन गर्ने क्रममा ती पाँच हजार जना पत्रकारको सदस्यता नवीकरण नगरिएको महासंघको भनाइ छ । महासंघको सुद्धीकरण र व्यावसायिक पत्रकारिता प्रवर्धनअन्तर्गत महासंघमा सदस्यता शुदद्धीकरणको योजनालाई अभियानकै रूपमा अघि बढाइएको महासंघको दाबी छ ।
‘क्रियाशील नरहेका करिब ५ हजार जना सदस्यको नवीकरण गरिएएको छैन,’ महासंघले भनेको छ, ‘अझै पनि शुद्धीकरणलाई निरन्तरता दिनुपर्ने खाँचो छ ।’
महासंघमा सुद्धीकरण अभियान सञ्चालन गरेर थुप्रै पत्रकारको सदस्यता नवीकरण नगरेको दाबी गर्ने महासंघले मापदण्डविपरीत नयाँ सदस्यता प्रदान गरिरहेको छ । पत्रकारितामा क्रियाशील रहेको प्रमाणस्वरुप बाइलाइन समाचार र सम्बन्धित सञ्चारगृहको सिफारिस न्यूनतम मापदण्ड भए पनि महासंघले ती मापदण्डलाई ख्यालै नगरी सदस्यता सिफारिस गरेको गुनासो विभिन्न जिल्ला शाखाहरुले गर्दै आएका छन् ।
बिनाकुनै कागजात प्राप्त भएका कतिपय नाम मात्रैलाई पनि सदस्यता सिफारिस गरेर महासंघले गैरपत्रकारहरुलाई हालीमुहाली गर्न दिने वातावरण बनाइदिदै गएको छ । राजनीतिक दाउपेच र व्यक्तिगत स्वार्थमा केन्द्रित रहेर महासंघका पदाधिकारीहरुले पत्रकार भएको प्रमाणबिनै सदस्यता वितरण गरेको स्वयम् पत्रकारहरु नै बताउँछन् ।















प्रतिक्रिया