
भक्तपुर, १६ चैत । भक्तपुरको चागुनारायण नगरपालिका–५ छालिङका अध्यक्ष जयन्द्र खड्काले छालिङकै एक युवामाथि मरणासन्न हुनेगरी कुटपिट गरेका छन् ।
छालिङकै पिखेलस्थित एक पार्किङस्थलमा गाडी पार्क गरेको विषयलाई लिएर खड्काले शनिबार बेलुका छालिङकै स्थानीय लक्ष्मण खिचाजुलाई कुटपिट गरेका हुन् । खड्काका साथै कुटपिटमा पूर्वसैनिक विश्व खड्का र प्रकाश लामिछानेको पनि संलग्नता रहेको पीडित खिचाजुले बताएका छन् ।
आफ्नै पार्किङ एरियामा गाडी पार्क गर्न खोज्दा आफूमाथि आक्रमण भएको उनको भनाइ छ । जनताका लागि शान्तिसुरक्षाको समेत जिम्मेवारी बोकेर हिड्नुपर्ने जनप्रतिनिधि आफैं कुटपिटमा उत्रिनु सबैका लागि त्रासको वातावरण सृजना भएको उनले बताए ।
कुटपिटबाट सख्त घाइते भएका खिचाजुको टाउको, घाँटी र मुखमा गम्भीर चोट लागेको छ । हाल उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । वडाध्यक्ष खड्काले केही दिनअघि पनि अर्का एक युवालाई कुटपिट गरेका थिए ।

बारम्बार मदिरा सेवन गर्ने र झैझगडामा संलग्न भइरहने खड्काले स्थानीय प्रहरीलाई समेत आफ्नो काबुमा राखेको तथा प्रहरीलाई धम्क्याउने र थर्काउने गरेको पीडितका आफन्तहरुले बताएका छन् । त्यसैकारण खिचाजुका आफन्तले प्रहरीमा दिएको उजुरीउपर समेत प्रहरीले कारबाही गर्न सकिरहेको छैन ।
मरणासन्न हुनेगरी कुटपिट गरेका खड्का अहिले पनि खुलेआम हिँडिरहेका छन् । तर, प्रहरीले उनलाई पक्राउ गर्ने कुनै हिम्मत र चासो नदेखाउँदा छालिङका सर्वसाधारणहरु जनप्रतिनिधिबाटै असुरक्षित महशुस गरिरहेका छन् ।
खड्कासहित कुटपिटमा संलग्नहरुविरुद्ध पीडितका बुबाले उजुरी दिएका छन् ।















प्रतिक्रिया