
काठमाडौं, १६ चैत । नेपाल पत्रकार महासंघको आगामी २५ गते हुने निर्वाचनका लागि बनाइएको समीकरणका विषयलाई लिएर पूर्व सञ्चारमन्त्री समेत रहेका नेकपा एमालेका नेता गोकुल बास्कोटाले असन्तुष्ट पक्षधरका योगेश भट्टराई र विष्णु रिजालको पछिल्लो कदमप्रति गम्भीर प्रश्न उठेको बताएका छन् ।
सङगठनभित्र नमिलेका कुराहरु मिलाउँदै अगाडि बढ्नुपर्नेमा पार्टी सङ्गठनकै हितविपरीत पार्टी सङ्गठनको नाममा फरक पार्टीसँग सहकार्य गरेको भन्दै बास्कोटाले कडा टिप्पणी समेत गरेका छन् । केहीबेरअघि सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै बास्कोटाले भट्टराई र रिजालको नामै किटेर गम्भीर प्रश्न उठाएका हुन् ।
पार्टी एकताको चर्को आवाज उठाउनेहरुले नै पार्टीको आधिकारिक सङ्गठनविरुद्ध समीकरण निर्माण गरी निर्वाचनमा जानु नैतिकहीन कार्य भएको उनको भनाइ छ । ‘पार्टीमा एकताको माग गर्ने साथीहरुले पत्रकार महासंघको चुनाउमा चौतारीका नाममा अरुसँग गरेको सहकार्य कसरी मिलाउनु हुने हो सोध्न र व्यवहार हेर्न मन लाग्यो,’ उनले लेखेका छन्, ‘योगेश भट्टराई र बिष्णु रिजाल के सोच्दै छन् होला जिज्ञाशा नि !’
पत्रकार महासंघको निर्वाचनमा माधव नेपाल पक्षका प्रेस चौतारीका नेताहरुले कांग्रेस–माओवादी गठबन्धनलाई साथ दिएपछि बास्कोटाले तत्कालीन प्रचार विभाग प्रमुख समेत रहेका योगेश भट्टराई र सचिव बिष्णु रिजालको नामै लिएर यस्तो टिप्पणी गरेका हुन् ।
माधवकुमार नेपाल पक्षधर चौतारीले पत्रकार महासंघको निर्वाचनमा कांग्रेससम्बद्ध नेपाल प्रेस युनियन र माओवादीसम्वद्ध पत्रकारहरुको गठबन्धनबाट सचिवसहित केही सदस्य लिएर चुनावमा भाग लिँदैछ । कांग्रेस–माओवादी गठबन्धनमा माओवादी निकट प्रेस सेन्टरले पाएको कोटाबाट माधव नेपाल पक्षलाई भागबण्डा मिलाइएको छ ।















प्रतिक्रिया