काठमाडौं, १३ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक टोलीले गोरखाको लार्पाक नमूना वस्ती परियोजनाको अवलोकन भ्रमण गरेको छ ।
संघका उपाध्यक्ष तथा लाप्राक नमूना वस्ती परियोजनाका संयोजक सोनाम लामासहितको टोलीले बुधबार र बिहीबार लाप्राक नमूना वस्तीमा भएका निर्माणसम्बन्धी कामहरुको अवलोकन गरेको हो ।
टोलीले परियोजनामा भएका कार्यहरुको प्रगतीबारे परियोजनामा कार्यरत कर्मचारीहरु, लाभग्राहीहरु र सरोकारवालाहरुसँग भेट गरी जानकारी लिएको छ । लाप्राक नमूना वस्तीमा बाँकी रहेका कामहरु यही महिनाको अन्तिममा सम्पन्न हुने बताइएको छ ।
परियोजनाअन्तर्गत निर्माण हुने सबै घरहरुको छाना एकरुपको रहने भएको छ । उक्त वस्तीको हस्तान्तरण आगामी वैशाख १२ गते गर्ने तयारी गरिएको छ । त्यसका लागि आवश्यक कार्यहरु भइरहेको संघका उपाध्यक्ष सोनाम लामाले जानकारी दिए ।
साथै उक्त टोलीले वस्ती निर्माण गर्नमा सहयोग गर्ने गैरआवासीय नेपालीहरु र विभिन्न संघसंस्थाहरुको नाम र सहयोग रकमसहितको शिलापत्र राख्ने स्थान अवलोकन गरी उक्त शिलापत्र राख्ने स्थानको निर्धारण गर्ने काम समेत वडा तथा गाउँपालिकाको सहमतिमा तय गरिएको बताइएको छ ।
उक्त भ्रमण टोलीमा जर्मनीका आईसीसी सदस्य टंक लम्साल र सचिवालयका कार्यकारी निर्देशकको सहभागिता थियो ।















प्रतिक्रिया