५ कार्तिक २०८३, बिहिबार

नबिल बैंकलाई ‘एक्सिलेन्स इन इम्प्लोइ एक्सपेरियन्स’ अवार्ड

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । नबिल बैंकले ‘एक्सिलेन्स इन इम्प्लोइ एक्सपेरियन्स’ अवार्ड प्राप्त गरेको छ ।

मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिटअन्तर्गत पहिलोपटक समावेश गरिएको अवार्ड नबिल बैंकले प्राप्त गरेको हो ।

बैंकभित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुने गरी व्यापक सदुपयोग गरी काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरूको बैंक प्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले बताएको छ ।

कम्पनीले अवार्ड छनोटका लागि प्रोफेसर डा. सुवास केसीको संयोजकत्वमा निर्णायकमण्डल बनाएको थियो । सोही छनोट समितिले नबिल बैंकलाई ‘एक्सिलेन्स इन इम्प्लोइ एक्सपेरियन्स’ अवार्ड दिने निर्णय गरेको बताइएको छ ।

बैंकमा कर्मचारीहरूको कार्यसम्पादनका साथै उनीहरूको बैंकप्रतिको विश्वास र अनुभवको आधारमा साथै मानव संसाधनलाई बैंकले व्यापक उपयोग गरेको आधारमा अवार्ड दिने निर्णय भएको पनि जानकारी दिइएको छ । बैंकको वर्किङ कल्चर, सेवासुविधा र उत्प्रेरणाका हिसाबले देशभरका शाखामा कार्यरत कर्मचारीहरू बैंकप्रति सन्तुष्ट रहेको बैंकको दाबी छ ।

कोरोना कहरकाबीच पनि नबिल बैंकले आफ्ना कर्मचारीलाई ७ महिना बराबरको तलब बोनश दिएको थियो । बैंकमा १ हजार १२८ जना भन्दा बढी कर्मचारीहरू स्थायी रूपमा कार्यरत छन् ।

नबिल बैंकलाई यसअघि बेलायतको प्रतिष्ठित पत्रिका युरोमनीले लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंकद्वारा पुरस्कृत गरिसकेको छ । सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समयानुकुल सेवा प्रदान गर्दै आएको बैंकले ११९ वटा शाखा, १८५ वटा एटीएम, १ हजार ५०० वटा भन्दा बढी नबिल रेमिट एजेन्टहरूमार्फत सेवा प्रवाह गरिरहेको छ ।