
काठमाडौं, १३ चैत । पूर्व खानेपानीमन्त्री बीना मगरले शुक्रबार मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गरेकी छिन् ।
मेलम्ची खानेपानी आयोजना विकास समितिको निमन्त्रणामा पूर्वमन्त्री मगर सुन्दरीजल पुगेको बताइएको छ ।
उनी मन्त्री रहुञ्जेल प्रायः महिनैपिच्छे ‘मेलम्ची आउँछ’ भन्दै मिति सार्ने श्रृङ्खलाका कारण निक्कै आलोचित बनेकी मगर मेलम्चीको पानी काठमाडौंमा वितरण हुनुभन्दा दुई दिनअघि सुन्दरीजल पुगेकी हुन् ।
सुन्दरीजल पुगेको अवसरमा उनले आफ्नो कार्यकालमा सम्पन्न हुनुपर्ने आयोजना प्राविधिक समस्याका कारण केही समय ढिलो भएको स्वीकार गर्दै आफ्नो कार्यकालमा सम्पूर्ण कामको ३० प्रतिशत काम गरेको दाबी समेत गरेकी छिन् ।

आगामी आइतबार (चैत १५ गते) देखि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पानी काठमाडौं उपत्यकावासीको घर–घरमा पुर्याउने तयारी भइरहेको छ ।
२२ वर्षपछि गत फागुन २२ गते मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा झारिएको थियो । प्रधानमन्त्री केपी ओलीले सुन्दरीजल पुगेर फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा खसेको थियो ।
त्यसअघि फागुन १० गते २६ किलोमिटर लामो मेलम्चीको सुरुङमा पानी खसाइएको थियो । १३ दिनपछि पानी सुन्दरीजलमा खसालिएको पानी आगामी आइतबारदेखि उपभोक्ताको धारमा पठाउन लागिएको हो ।
आफ्नो कार्यकालमा आफ्ना ससुरा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समेतको प्रभाव र दबाबका कारण अनेक बखेडा सृजना गरी आयोजना निर्माणमा ढिलाइ गरेको आरोप खेप्दै आएकी मगरले अहिले जस लिनका लागि प्रचारात्मक अवलोकन भ्रमणमा गएको टिप्पणी गरिएको छ ।















प्रतिक्रिया