काठमाडौँ, १८ चैत । राष्ट्रपति डा रामवरण यादव चीन सरकारको निमन्त्रणामा उक्त मुलुकको बोआओ सहरमा भएको ‘एसियाका लागि बोआओ मञ्च’ को वार्षिक सम्मेलनमा भाग लिएर आज स्वदेश फिर्ता हुनुभएको छ ।
स्वदेश फिर्ता हुने क्रममा राष्ट्रपति यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रिगण, सुरक्षा निकायका प्रमुख तथा सरकारका उच्च पदाधिकारीलगायतले स्वागत गर्नुभएको थियो । राष्ट्रपति यादवको स्वागत समारोहमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
राष्ट्रपति यादवको भ्रमणले नेपाल–चीनबीचको युगौँ पुरानो मैत्रीपूर्ण सम्बन्धमा थप उचाइ पु¥याएको भ्रमणमा सहभागी सहरी विकास मन्त्री डा नारायण खड्काले बताउनुभयो ।
राष्ट्रपति यादवको भ्रमणका बारेमा विमानस्थलमा जानकारी गराउँदै मन्त्री खड्काले नेपाल–चीन सम्बन्धको हीरक महोत्सवसमेत यही वर्ष परेको र यस अवसरलाई भव्यताका साथ मनाउन दुवै देशबाट उच्चस्तरीय भ्रमणको आदानप्रदान पनि एक भएको हुँदा यस भ्रमणको विशेष महत्व रहन गएको बताउनुभयो ।
चीनको दक्षिणी प्रान्त हाइनानको बोआओ सहरमा यही चैत १२ देखि १५ गतेसम्म आयोजना भएको सम्मेलनमा राष्ट्रपति डा यादवले नेपालका तर्फबाट विशेष सम्बोधन गर्नुभएको थियो ।
सम्बोधनमा राष्ट्रपति यादवले सम्मेलन एसिया महादेश एवम् अन्य क्षेत्रका मुलुकले सामना गर्नुपरेको साझा मुद्दामा छलफल गर्ने एवम् अनुभव र विचारको आदानप्रदान गर्ने महत्वपूर्ण मञ्च भएको बताउँदै नेपालको वर्तमान राजनीतिक आवस्थाका बारेमा पनि जानकारी गराउनुभएको थियो ।
सम्मेलनमा नेपालसहित चीन, आर्मेनिया, अस्ट्रिया, इन्डोनेसिया, श्रीलङ्का, युगान्डा र जाम्बियाका राष्ट्रपति, अस्ट्रेलियाका गभर्नर जनरल, कजाखस्तान, मलेसिया, नेदरल्यान्ड, कतार र स्विडेनका प्रधानमन्त्रीलगायतले सम्बोधन गर्नुभएको थियो ।
भ्रमणका अवसरमा राष्ट्रपति यादवले आफ्ना चिनियाँ समकक्षी सि जिनपिङसँग बोआओस्थित स्टेट गेष्टहाउसमा द्विपक्षीय वार्ता गर्नुभएको थियो । राष्ट्रपति यादवले चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निमन्त्रणा दिँदा राष्ट्रपति सिले उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको थियो ।
सौहार्दपूर्ण रुपमा भएको सो वार्तामा चिनियाँ राष्ट्रिपति सिले नेपालमा छिटो दीगो शान्ति र स्थायित्वको कामना गर्दै आर्थिक उन्नतिको पथमा अगाडि बढेको हेर्न चाहेको बताउनुभएको मन्त्री खडकाले जानकारी गराउनुभयो ।
भ्रमणका अवसरमा राष्ट्रपति यादवले अस्ट्रियाका राष्ट्रपति डा हेनिज फिस्चर तथा स्विडेनका प्रधानमन्त्री स्टेफन लफभेनसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नु भएको थियो ।
भ्रमणका अवसरमा चीनले नेपालको सामाजिक–आर्थिक विकासका गतिविधिलाई द्रुत गतिमा अघि बढाउन र कोदारी राजमार्गको स्तरोन्नति तथा अन्य सडक निर्माण र पूर्वाधार विकासमा लागि ९० करोड युआन प्रदान गर्ने घोषणा गरेको छ । यसका साथै चीनले पाँच वर्षका लागि १५ सय तालिम छात्रवृत्ति प्रदान गर्नेसमेत घोषणा गरेको छ ।
भ्रमणको चौथो दिन ल्हासा विमानस्थलमा राष्ट्रपति यादवलाई तिब्बत स्वशासित क्षेत्र सरकारका अध्यक्ष लोसाङ जियाङछुन तथा तिब्बत परराष्ट्र कार्यालयका उच्चपदाधिकारीले स्वागत गर्नुभएको थियो ।
भ्रमणका अवसरमा राष्ट्रपति यादवले चीनको मुख्य भूमिबाट ल्हासा हुँदै सिगात्सेसम्मको रेलमार्गको अवलोकन गर्नुभएको थियो । चीनले आगामी सन् २०२० सम्ममा यस रेलमार्गको विस्तार गरी केरुङसम्म पु¥याउने योजना रहेको जानकारी गराएको थियो ।
राष्ट्रपति यादवले सो रेलमार्ग नेपालसँग जोडिएको खण्डमा व्यापार, पर्यटन र जनस्तरको आवागमनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको मन्त्री खड्काले बताउनुभयो ।
महत्वपूर्ण आर्थिक मञ्च बोआओ फोरम फर एसियामा १० वर्षपछि नेपाललाई प्राप्त भएको यस निमन्त्रणामा राष्ट्रपति यादवले भाग लिएर मन्तव्य दिन पाउनु नेपालका लागि गौरवको विषय भएको मन्त्री खड्काकोे भनाइ छ ।
नेपालमा गणतन्त्र स्थापना भएपछिको राष्ट्रपतिको यो पहिलो औपचारिक तथा दुई देशका राष्ट्रप्रमुखबीचको पहिलो द्विपक्षीय भेट हो । यो वर्ष नेपाल–चीन सम्बन्धमा हीरक महोत्सव विविध कार्यक्रमका साथ मनाउने सन्दर्भमा यो भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन मद्दत पुगेको बताइएको छ । रासस














प्रतिक्रिया