
काठमाडौं, ९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका लागि ढाका प्रस्थान गरेकी छिन् ।
राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत सोमबार बिहान ८ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका प्रस्थान गरेकी हुन् ।
राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणा र बंगलादेशका राष्ट्रिय पिता बंगलाबन्धुको सयौं जन्मजयन्तीका अवसर पारेर बंगलादेश गएकी हुन् ।
भण्डारीको बिदाइका लागि त्रिभुवन विमानस्थल उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत उच्च पदस्थ अधिकारी पुगेका थिए ।
नेपालको राष्ट्राध्यक्षबाट ४२ वर्षपछि बंगलादेशको राजकीय भ्रमण हुन लागेको हो । तत्कालीन राजा वीरेन्द्र शाहले सन् १९७८ मा बंगलादेशको द्विपक्षीय भ्रमण गरेपछि राष्ट्राध्यक्षका रूपमा नेपालबाट भ्रमण भएको छैन ।
सन् २०१९ को अन्त्यमा बंगलादेशका राष्ट्रपति अब्दुल हमिल नेपाल आएका थिए । बंगलादेश भ्रमणका क्रममा पर्यटन, संस्कृति आदानप्रदान, स्यानेटरी र फाइटो स्यानेटरी तथा रोहनपुरदेखि सिंहबादसम्म ‘ट्रान्जिट रुट’ का रूपमा प्रयोगमा सहकार्य गर्न दुई मुलुकबीच सम्झौता हुने भएको छ ।
भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेललगायत ५४ जना रहेका छन् ।















प्रतिक्रिया