मनाङ, ८ चैत । मनाङ जिल्लाको नासों गाउँपालिका– ४, खोत्रोमा ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
लमजुङको बेंसीसहरबाट मनाङको चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक शनिबार खोत्रोमा सडकबाट दुर्घटना भएको थियो । ट्रक करिब ४५ मिटर तल मर्स्याङ्दी नदीमा खसेको छ । घटनास्थलमा ३ जनाको मृत्यु भएको थियो । उपचारका लागि लमजुङ ल्याउने क्रममा थप २ जनाको बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काले दुर्घटनामा मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी डेढ वर्षका लियोन गुरुङ, ३५ वर्षीया मनीषा गुरुङ र अन्दाजी ३१ वर्षीया जलकाशी गुरुङको घटनास्थलमा मृत्यु भएको जानकारी दिए । मृतक लियोन मनीषाका छोरा हुन् । मनीषा र जलकाशी दिदीबहिनी हुन् ।
लमजुङका डीएसपी गंगाबहादुर थापाले मनाङ दुर्घटनामा गम्भीर घाइतेमध्ये २ जनाको उपचारका लागि जिल्ला अस्पताल बेंसीसहरतर्फ ल्याउँदै गर्दा मृत्यु भएको बताए ।
घाइते ५ जनामध्ये ट्रकका सह–चालक लमजुङको मर्स्याङ्दी गाउँपालिका ५, घेर्मु खोरियाखेतका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ का २८ वर्षीय राजु विकलाई उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
गम्भीर घाइते ट्रकका चालक तनहुँको भानु नगरपालिका ३ का २४ वर्षीय सुमन तामाङ, नासों गाउँपालिका ४ का अन्दाजी ४ वर्षीय थियोन गुरुङ र अन्दाजी ६ वर्षीय नियोल गुरुङको जिल्ला अस्पताल लमजुङमा प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज चितवनमा रिफर गरिएको छ ।











प्रतिक्रिया