
काठमाडौँ, ७ चैत । पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ ।
क्युआर भुक्तानीलाई तीव्र रुपमा अगाडी बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्विस लिमिटेडको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो । सनिबार सौराहामा एक कार्यक्रमकाबीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले उद्घाटन गरे ।
यो सँगै सौराहाका हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । क्युआर मार्फत भुक्तानी गर्न सकिने भएसँगै सौराहा घुम्न जाने पर्यटकहरुलाई नगद रकम बोक्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।
कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिका प्रमुख नारायण बनले पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा विकास गर्न पाउँदा आफूहरुलाई खुशी लागेको बताए । उनले आर्थिक कारोबार डिजिटल हुँदा सुशासन र पारदर्शीता कायम हुने बताए ।
नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै उनले नगदरहित कारोबारले मुलुकको अर्थतन्त्रमा पनि ठूलो टेवा पुग्ने बताए ।
कार्ड लगायतका भुक्तानीले वर्षेनी अर्बौँ रुपैयाँ विदेशीने गरेको बताउँदै क्यूआर भुक्तानीले सोही रकम स्वदेशमै रहने भएकाले आफुहरुले प्राथमिकतामा राखेको बताए ।
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर प्रविधिको प्रयोगसँगै व्यवसायीको व्यापार व्यवसायमा पनि वृद्धि हुने बताए ।
उनले व्यवसायीहरुले बैंकिङ्ग माध्यमबाट कारोबार गर्दा उनीहरुलाई ऋण तथा अन्य सुविधाका लागि पनि व्यवसायीलाई सहयोग पुग्ने बताए ।
कार्यक्रममा बैंक तथा फोनपेका तर्फबाट संचालक समितिका सदस्यहरु र व्यवस्थापनका कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो । कुमारी बैंक लिमिटेड टेक्नोलोजिमा आधारित बैंकिङ्गलाई प्रवद्र्धन गर्ने अग्रणी बैंक हो । बैंकले देशभर रहेका १ सय ९२ शाखा, १३ वटा एक्स्टेन्सन काउन्टर तथा २२ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा प्रदान गर्दै आएको छ ।
फाेनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने २ लाख ६० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् ।
एक करोड २५ लाख भन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।
फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।















प्रतिक्रिया